Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

असन्तुष्टी छ भने सचिवालय बैठकमा भन्नुपर्छ, संसद र पार्टी प्यालेसमा होइन : नेता नेम्वाङ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १४ आइतबार |
newsabhiyan
newsabhiyan

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप एकातिर छ भने सत्तारुढ दलभित्रैको विवाद सतहमा आएको छ । नेकपाको आन्तरिक विवाद र सरकारको कमजोरीको विषयमा ऋषि धमलाले नेकपाका नेता सुवास नेम्वाङसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :-

सुवास नेम्वाङ, नेता, नेकपा
नेपाल कम्युनिष्ट पार्टीभित्रको द्धन्द्ध र विवाद किन बढ्यो ?
पार्टीभित्र अलिअलि छलफल र बहस हुनु स्वभाविक हो । तपाईले भनेजस्तो द्धन्द्ध र विवाद छैन ।

माधवकुमार नेपालले त आफ्नो गुटमा रहेका स्थायी कमिटीको भेला नै गर्नुभयो नि ?
स्थायी समितिका सदस्यहरुलाई चियापानका लागि बोलाउनुभएको हो । म पनि त्यहाँ पुगेको थिएँ । शुभकामना दिएर फर्किएँ ।

नेपालले त संसदमा पनि सरकारको चर्को आलोचना गर्नुभयो नि ?
त्यसबेला म इलाममा थिएँ । चियापानमा भेट हुँदा उहाँलाई नै सोधेको थिएँ । उहाँले भन्नुभयो, मैले त सरकारलाई डिफेन्ड नै गरेको थिएँ । सरकारलाई राम्रो काम गर्नुपर्छ भन्नेमा जोड दिएको हुँ । सरकारलाई सुझाब मात्रै दिएको हुँ भन्नुभयो । भेला त दशैँको बेलामा शुभकामना आदानप्रदानका लागि भेला गरिएको बताउनुभयो ।

तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाटै नेपाललाई जवाफ दिनुभएछ । म नहुँदा किन छटपटी भनेर प्रश्न गर्नुभयो । यसले विवाद देखाउँदैन ?
यि ठूला विवादका विषय होइनन् । यस्ता कुराहरुमा धेरै टिप्पणी गरिरहनु आवश्यक छैन । चियापन गर्ने नेताले नै गुटको भेला होइन, चियापान मात्रै हो भनिसक्नुभएको छ ।

तपाईहरुको पार्टी एकता अझै टुङ्गिएको छैन, यस्तो अवस्थामा आरोप प्रत्यारोप हुन थालेपछि समस्या हुँदैन ?
सबै पार्टीहरुमा समस्या हुन्छ । समाधान हुँदै जान्छन् । यसका लागि संयमतापूर्वक काम गर्नुपर्छ ।

पार्टी संचालन गर्ने तरिकाप्रति अरु नेताहरुको पनि असन्तुष्टी छ नि ?
पार्टीभित्रको असन्तुष्टी व्यक्त गर्नका लागि सचिवालय र स्थायी समिति बैठक छ । त्यहीँ छलफल गर्नुपर्छ भनेर मैले सबै साथीहरुलाई सुझाब दिएको छु । तपाईले मलाई पनि जति उचाल्नुभए पनि प्रेरित गरे पनि म अहिले बोल्दिन । स्थायी कमिटिभित्र बोल्छु ।

तर विवाद त सतममा आइसक्यो नि ?
माधव कम्रेड लगायत नेताहरुको बोल्ने ठाउँ सचिवालय हो । त्यसैले म के भन्छु भने साथीहरुले अरु ठाउँमा बोले भने बाटो छोडेर ट्रयाक बाहिर जाँदैछन् भनेर बुझ्नुपर्छ ।

मावधकुमार नेपालले त संस्थापन पक्षले मलाई पेल्न थाल्यो भन्ने गुनासो गर्नुभएको छ नि ?
यो कुरा त मलाई थाहा छैन । तर उहाँहरुले नै मिलेर नेकपालाई अगाडि बढाउने हो ।

सत्तारुढ दल नै विवादमा फसेपछि पार्टी कमजोर हुन्छ । अर्कोतिर सरकारले गरेको कामप्रति जनता सन्तुष्ट हुन सकेका छैनन् । सरकारले पनि राम्रो काम गर्नुपर्ला नि ?
पर्टीभित्र आन्तरिक द्धन्द्ध हुनुहुदैन भन्ने कुरामा म शतप्रतिशत सहमत छु । नेकपा सुदृढ भएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षले पनि सुदृढ भएर भूमिका खेल्नुपर्छ । सरकारले काम त धेरै गरेको छ । तर कतिपय कमी कमजोरीहरु देखिएको भनेर टिप्पणी आएका छन् । यसलाई सरकारले सच्याउनुपर्छ ।

जनताले नै सरकारको कामप्रति असन्तुष्टी व्यक्त गर्न थालेपछि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्दैन ?
चित्त नबुझ्नु स्वभाविक हो । असन्तुष्टीलाई सम्मान नै गर्नुपर्छ । वास्तवमा मलाई पनि हामी उडेरै अगाडि बढ्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर सरकारले धेरै काम गरेको छ । हामी सकारात्मक कुरा देख्दैनौँ, नकारात्मक कुरा देखिहाल्छौँ । त्यसैले राम्रा र नराम्रा दुवै पाटो केलाउनुपर्छ ।

निर्मला पन्तको बलात्कारी र हत्यार अहिलेसम्म पत्ता लगाउन सकेन । फेरी आन्दोलन सुरु भएको छ ?
कञ्चनपुर घटनालाई अविलम्ब निष्कर्षमा पुर्याउनुपर्छ । सरकारले यससम्बन्धमा धेरै काम पनि गरेको छ । नेपालको इतिहासमा एउटै घटनामा यति धेरै प्रहरीलाई निलम्बन गरिएको छ । अनुसन्धानका लागि समितिहरु बनाइए । तर परिणाम नआएको चाँही हो । अर्को कुरा के पनि हो भने परिणामका लागि कोसिस गर्दा गर्दै पनि भएन भने त्यसलाई संयमतापूर्वक सबैले सहयोग गर्नुपर्छ ।

निर्मला पन्तबारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्दैन ?
यस्ता घटनाको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने मेरो सधैँको मान्यता हो । जनताको जानकारीका लागि त्यो प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ । यसका लागि म गृहमन्त्रीलाई पनि आग्रह गर्छु ।

सुनकाण्ड पनि त्यसै सेलायो भन्ने आरोप छ नि ?
सुनकाण्डका दोषी कारबाहीमा परेका छन् । मुद्दा अदालतमा पुगेको छ । प्रक्रियाअनुसार अगाडि बढिरहेको छ । तर साथीहरुले ठूला माछा समात्छौँ भनिदिनुभयो । यसले कुरा बिगार्यो ।

यातायात क्षेत्रको सिण्डिकेट हटाउने निर्णय पनि कार्यान्वयन भएन । किन ?
यातायात क्षेत्रको सिण्डकेट तोडियो । तर जुन ढंगले परिणाम आउनुपथ्र्यो त्यो भएन । जनताले अनुभूति गर्न पाएनन् ।

कामको जिम्मा लिएर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन जस्ता कम्पनीलाई किन कारबाही भएन ?
यसमा राजनीतिक कुरा पनि होला । तर जोसुकै होस्, कानुनबमोजिम कारबाही हुनुपर्छ । पप्पु कन्स्ट्रक्सनका सम्बन्धमा धेरै प्रश्न उठेपछि मैले समितिका सदस्यहरुलाई नै भेटेर अलिकति पनि यताउता नगर्नुहोला भनेर भनेको छु । जनतालाई आश्वस्त पार्न सक्नेगरी काम गर्न सल्लाह दिएको छु । पप्पु कन्स्ट्रक्सनको क्षमता छैन भन्ने कुरा देखिइसकेको छ । अब त्यसलाई कुनै पनि ठेक्का दिनुहुँदैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan