Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजनीतिमा साधु र चोर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १९ सोमबार |
newsabhiyan
newsabhiyan

श्रीमन्नारायण,  मधेसवादी राजनीतिक दलका कतिपय नेताहरू पटक–पटक यस कुरालाई गर्वपूर्वक दोहो¥याउँदै आएका छन् कि उनीहरू साधु बन्न राजनीतिमा आएका होइनन् । यस्तो किसिमका टिप्पणी आउनु पछाडिको निहित आशयबारे समीक्षा हुनु आवश्यक छ ।

साधु, योगी र सन्तजस्ता पवित्र शब्दहरूको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुन सक्दैन । साधुजस्ता महान् एवं उच्च आदर्शका व्यक्तित्वहरू नेपाली राजनीतिमा धेरै सङ्ख्यामा आएको भए देशको यस्तो दुरवस्था नै हुने थिएन ।

सामान्य अर्थमा साधु भन्नाले निस्स्वार्थी, परोपकारी, इमानदार, सबैसित एक समान व्यवहार गर्ने, सबैमा अपनत्व तथा बन्धुत्वको भाव बुझ्ने तथा जनसेवा एवं राष्ट्रसेवालाई सर्वोपरि ठान्ने व्यक्तिलाई बुझिन्छ । साधुको नजरमा न कोही आप्mनो हुन्छ, न परायी ।

उपरोक्त सद्गुण भएका व्यक्तिको आलोचना गरेर यदि कोही राजनीतिज्ञ आपूmलाई यसविपरीत चरित्र भएको कित्तामा उभ्याउन खोजदछ भने यसको सोझो अर्थ हुन्छ त्यस्ता नेताहरू भ्रष्टाचार गर्न मात्रै राजनीतिमा आएका हुन् ।

जातिवाद, परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन राजनीतिमा आएका हुन् । देश र जनतासित उनीहरूलाई कुनै सरोकार छैन ।

येनकेन प्रकारेण सत्तामा पुग्नु, लामो समयसम्म सत्तामा टाँसिइरहनु तथा सत्ताच्युत भएपछि संवेदनशील एवं भावनात्मक मुद्दा उचालेर आफ्नो निहित स्वार्थ पूर्ति गर्नु नै वर्तमान अवस्थामा राजनीतिक अभीष्ट पालेका राजनीतिज्ञहरूलाई साधुको चरित्र नराम्रो लाग्नु स्वाभाविक हो ।

यदि कोही व्यक्ति साधु बन्न राजनीतिमा आएको होइन भने पक्कै पनि ऊ चोर बन्न आएको हो किनभने साधुको विपरीतार्थक शब्द चोर नै हो ।

प्रष्ट राजनीतिक सिद्धान्त, पृष्ठभूमि सहितको नेतृत्व, वैकल्पिक कार्यक्रम तथा दूरदर्शिताविना कुनै राजनीतिक सङ्गठनले तत्कालीन जनाक्रोशलाई एकत्रित गरेर आन्दोलनको आँधीबेरी खडा गर्न सक्दछ, स्थापित राजनीतिक शक्तिको प्रभावलाई पनि केही समयको निम्ति अवरोध पु¥याउन सक्दछ ।

आन्दोलनको प्रभावको कारण कुनै चुनावमा सफलता पनि पाउन सक्दछ तर त्यसको दीर्धकालीन प्रभाव र असर हुँदैन । जनताको तत्कालिन पीडा एवं आक्रोशलाई भजाएर चुनाव जित्नु र परिवर्तनको संवाहक बन्नु छुट्टै कुरा हो ।

जनजीवनमा आमूल परिर्वतन ल्याउने भिजन भएको नेताले नै दीर्घकालीन राजनीति गर्न सक्दछ, होइन भने उल्कापातजस्तै चम्किएर आउने र विलीन हुन बेर लाग्नेछैन । सिद्धान्त, नीति र कार्यक्रमको अभावमा केवल जाति एवं क्षेत्रको नाराले सधैं सफलता दिलाउन सक्नेछैन ।

दक्षिणी छिमेकी राष्ट्र भारतमा अहिले नरेन्द्र मोदी प्रधानमन्त्री छन् । समाज र राष्ट्रसेवाको निम्ति उनले घर परिवारको वास्ता गरेनन् । एक दशकभन्दा पनि लामो समयसम्म उनले भारतको सर्वाधिक विकसित राज्य गुजरातको मुख्यमन्त्री भएर काम गरे । विगत चार वर्षदेखि भारतको प्रधानमन्त्री छन् तर उनको मनमा कहिल्यै जाति, परिवार एवं आप्mना–परायाको भावना आएन ।

सम्पत्ति आर्जनको अभिलाषा भएन । उनी सन्त होइनन्, तर सन्तभन्दा कम त्यागी पनि छैनन् । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको राजनीतिक यात्रा र सम्पूर्ण जीवन पनि साधुभन्दा कम थिएन । हामी आफ्नो देशभित्र मात्रै हेर्ने हो भने पनि कृष्णप्रसाद भट्टराई सन्त नेता थिए ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं देशका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बाचुन्जेल सन्त जीवन बिताए । उनले चाहेको भए पार्टीमा कठोर अनुशासन कायम गराउन सक्दथे र बाचुन्जेल प्रधानमन्त्री बन्न सक्दथे तर उनले आफ्नो चिन्ता गरेनन् । पार्टीको चिन्ता गरे ।

आज यदि नेपाली कांग्रेस एक ढिक्का छ भने यसमा प्रमुख भूमिका सन्तनेता कृष्णप्रसाद भट्टराईकै त्याग र समर्पणको हो । पद र सत्ताको निम्ति पार्टीलाई कमजोर बनाउने अथवा पार्टी फुटाउने काम उनले गरेनन् । उनले चाहेको भए पार्टी र सरकार दुवैको नेतृत्व एकै साथ पनि गर्न सक्दथे तर त्यसो गरेनन् ।

नेपाली कांग्रेसमा स्व.विपी र गणेशमान सिंहपछि सम्मानित नेताको रूपमा किसुनजीकै नाम आउँछ । वामपन्थी नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी सन्त थिएनन् तर सन्तजस्तै थिए । राणाविरोधी आन्दोलन तथा पञ्चायत विरोधी आन्दोलनमा लागेका अधिकांश नेताहरू सिद्धान्तनिष्ठ राजनीतिमाथि विश्वास राख्दथे । धन आर्जन गर्नुमात्रै उनीहरूको राजनीतिक लक्ष्य थिएन ।

महान् सामावादी नेता डा. राम मनोहर लोहिया सन्त थिएनन् तर उनको आफ्नो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उनको घर थियो । पार्टीको कार्यालयमा नै उनको आश्रय थियो तथा देशका सारा गरीबहरूको झुप्रो उनको कुटी थियो ।

उनी स्वयं ब्राह्मण थिए तर ब्राह्मणवादका विरोधी थिए । डा. लोहियाको चर्चाविना समाजवादको चर्चा अधूरो हुनेछ तर डा. लोहिया पनि सन्तभन्दा कम थिएनन् । भारतमा जयप्रकाश नारायण तथा नेपालमा गणेशमान सिंहले स्वेच्छाले प्रधानमन्त्रीको पद स्वीकार गरेनन् । सन्त हुनुको अर्थ गेरुवा वस्त्र, निधारमा भस्म र कमण्डल लिएर तपोवनमा योग–ध्यान गर्नु मात्रै होइन ।

नेपालको राजनीतिमा पनि यस्ता अनेकौं नेता कार्यकर्ताहरू भए जसले राजनीतिमा आएर आप्mनो पुख्र्यौली सम्पत्ति गुमाए तर राष्ट्रको ढुकुटी रित्याउने काम गरेनन् । वर्तमान समयमा आफ्नो घर परिवार, नातेदार, जाति, गुटको उत्थान एवं कल्याणलाई नै आप्mनो कर्तव्य र धर्म ठान्ने प्रवृत्तिका राजनीतिज्ञहरू नै निर्णायक ठाउँमा पुगिरहेका छन् ।

शायद त्यही भएर यस्ता व्यक्तिहरू आफूलाई जोगीको ठाउँमा भोगी भन्न बढी रुचाइरहेका छन् । विगतमा देश तथा पार्टीको नाउँमा आफ्नो सम्पत्ति र ज्यान गुमाउनु अथवा समर्पित गर्नुलाई गौरव एवं सम्मानको विषय मानिन्थ्यो ।

वर्तमान अवस्थामा आफ्नो घर–परिवारको निम्ति अथाह सम्पत्ति आर्जन गर्नुलाई नै गर्व एवं सम्मानको विषय मान्ने चलन बढेको छ । राजनीतिज्ञहरू व्यापारी साबित भइरहेका छन् । व्यापारीहरू धमाधम राजनीतिमा प्रभावकारी एवं निर्णायक ठाउँमा पुगिरहेका छन् ।

राजनीतिज्ञको स्थान ठेकेदार तथा व्यापारीले लिन थालेका छन् । शायद त्यही भएर होला धन आर्जन गर्न तल्लीन नेताहरूले आपूmमाथि लाग्ने गरेको भ्रष्टाचारको आरोप खण्डन गर्न साधु बन्न राजनीतिमा नआएको सफाइ दिन्छन् ।

यस्तो भनाइको आशय नै उनीहरू पैसा कमाउन, सत्ता सुख भोग्न, ऐश मोज गर्न तथा आफ्नो घर परिवार एवं नातेदारहरूको जीवनस्तर उकास्न मात्रै राजनीतिमा आएका हुन् भन्ने यथार्थ बुझ्नुपर्दछ । तर पनि यदि त्यस समाज र क्षेत्रका जनता त्यस्ता राजनीतिज्ञहरूमाथि विश्वास गरिरहेका छन् र तिनलाई आप्mनो समर्थन दिइरहेका छन् भने यसमा दोष त्यस्ता नेताहरूको नभई जनताकै रहेको भन्नुपर्दछ ।

 तराई–मधेसको आर्थिक एवं सामाजिक अवस्था सा¥है दयनीय छ । विकाससम्बन्धी तमाम सूचकाङ्क निराशाजनक छन् । शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । सैकडौं कल कारखानाहरू बन्द छन् । कृषि क्षेत्रको अवस्था दयनीय छ ।

बेरोजगारी समस्या उत्कर्षमा छ तर त्यतातिर कसैको पनि ध्यान जान सकिरहेको छैन । प्रादेशिक सरकारको पनि ९ महिना बितिसकेको छ । जनताको जनजीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम ल्याइएका छैनन् ।

केवल सस्तो लोकप्रियता पाउने खालका घोषणाहरू मात्रै भइरहेका छन् । बा¥है महीना चुनावको समय हुँदैन, तसर्थ केवल भोटको राजनीति गर्नुहुँदैन । आफ्नो कमी–कमजोरी एवं अकर्मण्यता लुकाउन मधेसवादी दलका नेताहरू केन्द्रसित विवादको नाटक गर्दछन् ।

हुनपनि राजनीतिमा साधुभावले प्रवेश नगरेकाहरू सित बढी अपेक्षा गर्न पनि सकिंदैन । साधु बन्न आएका भए पो आर्थिक, सामाजिक एवं राजनीतिक विकासको अपेक्षा गर्न सकिन्थ्यो ।

घोषितरूपमैं साधुविरोधी आचरणका साथ राजनीतिमा घुसपैठ गर्नेहरूले भ्रष्टाचार र अनियमिततालाई नै बढावा दिनेछन्, जसलाई दुर्भाग्यपूर्ण र विडम्बना मात्र भन्न सकिन्छ । प्रतिकका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan