Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संशोधनको नाममा मधेशी दललाई ‘ललिपप’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

अमरकान्त झा, मधेशको राजनीतिलाई जहिले पनि गोर्खाली शासनसत्ताका व्यक्तिहरूले धोका दिँदै आएका छन् । तीन तहको निर्वाचनमा मधेशीले सहभागिता नै नजनाउने मनस्थितिमा थिए ।

तर पनि निर्वाचन गएपछि हाम्रा मागहरू पूरा हुन्छ भनिएको थियो र मधेशीले निर्वाचनमा भाग लियो । निर्वाचनमा भाग लिएपश्चात् पनि हालका नेकपा दुई तिहाईको दम्भ देखाइरहेको छ । मधेशका कुनै पनि समस्यामा नेकपाका नेताहरूको चासो छैन । जनता पहिलाभन्दा पनि बढी ठगिएका छन् ।

मधेशकेन्द्रित दलहरू राजपा र फोरम सँगै आन्दोलन गरेका थिए । तर फोरम उम्किएर निर्वाचनमा भाग लिन गयो । पछि राजपाले पनि निर्वाचनमा गएन भने धेरै घाटा हुन्छ भनेर राजपा पनि निर्वाचनमा सहभागी हुन पुग्यो । त्यसपछि मधेशका मागहरू पूरा हुन्छ भन्ने आशा पलाएको थियो ।

तर, अहिलेको अवस्था हेर्दा राजपा र मधेशीलाई पनि घाटा लागेको छ । मधेशवादी दलका केही नेताहरूले आफ्ना व्यक्तिगत स्वार्थका लागि मधेशको मुद्दालाई तिलाञ्जली दिने काम गरेका छन् ।

निर्वाचनपश्चात् मधेशमा कुनै किसिमको उपलब्धी भएको छैन । मधेशी जनता अहिले पनि पीडामा छन् । मधेशीले उठाउँदै आएका माग अहिले पनि यथावत नै छन् । राज्यको हरेक अंगमा समानुपातिक समावेशिता व्यवहारमा लागू भएको छैन ।

तीनै तहको निर्वाचनमा मधेशकेन्द्रित दलहरूले भाग लिँदा जनादेश प्राप्त गरेको छ । तर, यो देशमा गोर्खाली समुदायका केही मुठ्ठिभर मानिसहरूले अहिलेसम्म शासन चलाउँदै आएका छन् । तिनीहरू सबै साढुभाई हुन् ।

कहिले केपी ओलीको नाममा, कहिले सुशील कोइरालाको नाममा, कहिले शेरबहादुर देउवाको नाममा, कहिले सूर्यबहादुर थापाको नाममा उनीहरू सबै साढुभाई बनेर राजनीति गरिरहेका छन् र मधेशलाई शोषण गरिरहेका छन् ।

मधेशी दलले त निर्वाचनमा भाग लियो तर मधेशी जनताले पाउनुपर्ने अधिकार पाएका छैनन् । संविधान संशोधन गर्छु भन्दै आएका छन् तर अहिलेसम्म गरेका छैनन् । अहिलेसम्म मधेशीसँग राज्यसत्ताले सम्झौताको राजनीति मात्रै गर्दै आएका छन् ।

जबसम्म मधेशीहरूले फेरि ठूलो आन्दोलन गर्दैन, सडकदेखि सदनसम्म आन्दोलन हुँदैन, तबसम्म अधिकार पाउने छैन । सरकारमा जाने जुन मधेशी दलले सोच बनायो र गयो त्यो सरासर गलत हो । मधेशले अधिकार नपाएसम्म मधेशी दल सरकारमा बस्नु उचित हुँदैन । अहिलेको मुख्य एजेन्डा संविधान संशोधन हो र यसबाट मात्र मधेशीले अधिकार पाउँछ ।

संविधान संशोधन मधेशी दलका लागि माग मात्र नभई एउटा राजनीतिक मुद्दा पनि हो । यो त जायज अधिकार हो र मधेशको माग पनि हो । मधेशमा अहिले पनि ४० लाखभन्दा बढी नागरिकताबाट वञ्चित छन् । त्यो त मधेशको अधिकार हो । संविधान संशोधनमा यो पनि एउटा महत्वपूर्ण मुद्दा हो ।

तर, फोरमले संविधान संशोधनलाई राजनीतिक मुद्दा बनाउँदै सरकारमा गयो । तर, जनताले फोरमका नेताहरूलाई पनि राम्ररी चिनिसकेका छन् । फोरमका नेताहरू मधेशको मुद्दामा चुनाव लड्ने, मत लिने र आफ्नो व्यक्तिगत स्वार्थका लागि कुदेर सरकारमा जाने काम गरे ।

संविधान संशोधनमार्फत् मधेशको माग पूरा गराउँछु भनेर सरकारमा गएका फोरमका नेताहरूले आफ्ना व्यक्तिगत स्वार्थ मात्र पूरा गरिरहेका छन् । मधेशी जनताको माग र अधिकारलाई राजनीतिक एजेन्डा मात्रै फोरमले बनाएको छ ।

चुनावका बेला मधेशी जनताले कांँग्रेस, वाम गठबन्धन, राजपा र फोरम सबैलाई संविधान संशोधनकै निम्ति मत दिएको हो । संविधान संशोधनमार्फत् आफ्नो अधिकार सुनिश्चित होस् भनेर मधेशीहरूले यी दलहरूलाई मत दिएका थिए । तर, मधेशी जनताका ती मत खेर गएको हो ।

मधेशी जनताले पनि चुनावका बेला गल्ती गरेका छन् । त्यहीं बेलामा मधेशका सबै जनताले मधेशका एउटै दललाई मत दिएको भए आज संविधान संशोधन गराउन सहज हुन्थ्यो । अहिले मधेशको मत विभाजित अवस्थामा रहेकाले संशोधनका लागि चाहिने इफोर्ट पुगिरहेको छैन ।

अहिलेको अवस्थामा संशोधनको नाममा एउटा मधेशका पार्टी सरकारमा छ भने अर्को दल मधेशको मुद्दा लिएर अझै पनि संघर्षरत् छ । मधेशी जनताले सबै कुराको मूल्यांकन गर्दैछन् । अब आउने दिनमा जुन पार्टीले मधेशसँग धोका गरेको छ त्यो मधेशबाट बढारिनेछ । यसको परिणाम अब आउने निर्वाचनमा देखिन्छ ।

संविधान संशोधनको मुद्दा राजपा र फोरम दुवै पार्टीको हो । दुवैले सँगै मिलेर आन्दोलन पनि गरेका थिए । तर, फोरम जसरी सत्तामा जान हतार ग¥यो त्यसले मधेशमा राजपाप्रति आकर्षण बढाएको हो । मधेशका जनता अहिले फोरमसँग नभई राजपासँग छ ।

अब राजपा आन्दोलनमा जाँदा जनताले राजपालाई नै साथ दिनेछन् । छठलगत्तै ठूलो आन्दोलन हुँदैछ । संविधान संशोधनप्रति सरकार त गम्भीर छैन भन्ने आवाज मधेशमा उठिसकेको छ । अब ठूलो आन्दोलन हुनबाट कसैले रोक्न सक्दैन ।

प्रदेश २ मा जसरी राजपा र फोरमको संयुक्त सरकार छ र अर्कोतर्फ आन्दोलनको पनि चेतावनी दिँदै आएको छ । राजपा यदि आन्दोलनमा जाने मनस्थिति नै बनाउँछ भने उसले प्रदेश २ को सरकारबाट पनि बाहिरिनुपर्छ र बाहिरिन्छ नै ।

राजपाले संविधान संशोधनका लागि छठसम्म कुर्छौं भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र नै बुझाइसकेको छ र राजपा शीर्ष नेताहरूले पनि आफ्ना अभिव्यक्तिहरू दिँदै आएका छन् ।

फोरमले जसरी सरकारमा जानका लागि संशोधनलाई मुद्दा बनायो त्यो एउटा हतियार मात्र थियो । यदि साँचै फोरम संशोधन चाहेको थियो भने सरकारमा जानुपर्ने आवश्यक्ता नै थिएन । राजपा आजसम्म सरकारमा गएकै छैन । तर, फोरमका नेताहरू आफ्ना निजी स्वार्थ पूरा गर्नका लागि मात्र सरकारमा गएका हुन् ।

फोरम मधेशको समस्या समाधान गराउनका लागि सरकार गएको होइन । अहिले मधेशको राजनीतिको बागडोर राजपाले नै लिनेछ । किनभने मधेशी जनताले फोरमको क्रियाकलापलाई नियाल्दै आएको छ । फोरमले मधेशको मत लिने र व्यक्तिगत स्वार्थका लागि मात्र राजनीति गर्ने उसको उद्देश्य हो ।

मधेशमा आन्दोलनको वातावरण बन्दै गइरहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली काँंग्रेसले पनि समर्थन दिने स्थिति आउँदैछ । किनभने मधेशको माग जायज हो र जायज मागलाई समर्थन गरेन भने मधेशबाट बढारिने निश्चित छ । नेपाली कांँग्रेसले त संविधान संशोधनका लागि पहिलादेखि नै सकारात्मक रहँदै आएको छ ।

कांँग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्न सकेको छैन, त्यसका लागि राजपासँग सहकार्य गर्नुको विकल्प छैन । यदि कांँग्रेसले मधेशमा आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्ने हो भने राजपालाई समर्थन गर्नुपर्छ । यदि काँंग्रेसले विगतको जस्तै आफ्नो व्यवहार देखायो भने अहिलेभन्दा पनि दुर्गति हुँदैन भन्न सकिन्न ।

किनभने मधेशले जहिले पनि आफ्नो अधिकारका लागि कांँग्रेसलाई पनि मत दिएकै हो । यसपटक कांँग्रेस चुक्नु हुँदैन ।

यो सरकार कुनै पनि हालतमा संविधान संशोधन गर्ने मनस्थितिमा छैन । अहिलेसम्म सरकारको व्यवहार हेर्दा मधेशी दललाई संशोधनको नाममा ललिपपमात्रै देखाउँदै आएको छ । पहिला जसरी नेकपा एमालेले मधेशीलाई ठगेको थियो, त्यसरी नै अहिले पनि ठग्दै छ ।

अहिले सरकारको नेतृत्व गरिरहेका नेतृत्वहरूको मानसिकतामा परिवर्तन भइसकेको छैन । मधेशलाई अधिकार दियो भने देश विखण्डनतिर जान्छ भन्ने सोच राखेकाहरूबाट मधेशको पक्षमा संशोधन हुन्छ भन्ने सोच्नु दिवास्वप्न नै हो ।

राज्य सत्ता सञ्चालकहरूको यस्तै सोचका कारण मधेशमा विखण्डनका आवाजहरू उठिरहेका छन् । स्वतन्त्र मधेशको नाममा अभियान चलाइरहेकालाई सरकारले मलजल गर्दै छ ।

मधेशका माग पूरा गरिदियो भने यस्ता अभियानहरू आफै समाप्त भएर जान्छ तर, समस्याको समाधान चाहेकै छैन । मुलुकमा सधैं अस्थिरता मचाइरहने राज्यसत्ता सञ्चालकहरू नै हुन् । (राजनीतिक विश्लेषक झासँग गरिएको कुराकानीको आधारमा) (मधेश दर्पण फिचर सेवा)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan