Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धरानमा लक्ष्मी पुजाको दिन ४ करोडको फूलको कारोबार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक  २२, काठमाडौं । सुनसरीमा आज एकै दिन चार करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गर्दै बुधबार एकै दिनमा करीब ४ करोड रुपैयाँको कारोबार भएको हो । 

फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार ४ करोड रुपैयाँ बढीको भएको हो । गत वर्षहरुमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए । स्थानीय कृषकहरुले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन् । 

सुनसरीको धरान आसपासका क्षेत्रहरु विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तिमा ३० लाख रुपैयाँ बढीको फूलको उत्पादन भएको पराजुलीले बताउनुभयो । विजयपुर क्षेत्रमा करीब अढाई बिघा भन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाईएको थियो । उहाँले भन्नुभयो, ‘आयातित भारतीय फूलको दबदबा यो वर्षको तिहारमा ६० प्रतिशत विस्थापित भएको छ । यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थालेमा केही वर्षमा भारतीय फूल पूर्णरुपमा विस्थापित हुने छ ।’   विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो । यसपाली स्थानीय फूल व्याबसायी कृषकहरुले व्यापक रुपमा खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन् ।  गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ ।

पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरु वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ । व्यावसायिक रुपमा तयार गरेर चिस्यानमा राखिने भएकाले भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ताहरु लोभिने गरेका थिए । कतिपयले भारतीय फूलमा फर्मालिन प्रयोग गरिने भएकाले लामो समय नओइलिने गरेको बताउने गरेका छन् । फर्मालिनलाई कुनै पनि पदार्थ सडिन वा कुहिनबाट जोगाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ हो ।

फ्लोरिकल्च एशोसिएशनका सुनसरी सदस्य प्रेम पराजुलीले भारतीय फूल आयात गर्न सरकारले रोक नलगाए पनि यसपटकको तिहारमा स्थानीय फूलको बजार सन्तोषजनक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरुले फूलबाट बढी नै आम्दानी गरे । फूलको उपभोग वर्षेनी बढेकाले स्थानीय किसानहरुले फूलको खेती पनि बढी नै गर्न थालेकाले भारतीय फूलको दबदबा घट्दै गएको छ ।’

विजयपुृरका फूल उत्पादक दुर्गा लिम्बुले भारतीय फूल भन्दा स्थानीय फूल बढी बिक्री भएको बताए । उनले भने, ‘तिहार अलि ढिलो भएकोले पनि कृषकहरुले रोपेका प्राय फूल सबै फुलेका छन् । मौसमले राम्रो साथ दिएकोले पनि कृषकले राम्रो दाम फूलबाट पाएका छन् ।’ समाचार कान्तिपुरमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan