Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नमुना बन्दै दलित बस्ती

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

– राजु विश्वकर्मा

लहान, २३ कात्तिक (रासस) ः केही वर्षअघिसम्म समस्यै समस्यामा थलिएको सिरहाको कर्जन्हा नगरपालिका–९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।

गाउँका दलित महिला सङ्गठित रुपमै सामाजिकसँगै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै बदलिएको हो । अरुको कुरा काट्न व्यर्थको समय बिताउँदै आएका दलित बस्तीका महिला सामाजिक सुधार कार्यमा जुटेपछि दलित पुरुषमात्रै होइन अन्य समुदायका महिला र पुरुष पनि उनीहरुलाई सघाउन थालेका छन् । विगतमा घरेलु हिंसा हुँदासमेत चुप लागेर बस्ने ती बस्तीका महिला त्यसविरुद्ध अभियान नै चलाएपछि अहिले घरेलु हिंसासँगै बालविवाहमासमेत उल्लेख्य कमी आएको स्थानीयवासीको भनाइ छ ।

समग्र विकास सेवा केन्द्र लहानको पहलमा २०७३ साल जेठ महिनामा राम सीता सामाजिक परिवारमा आबद्ध भएका गाउँका दलित महिलाले बस्तीका बालबालिकाका लागि विद्यालय भर्ना अभियान चलाए । यो वर्ष मात्रै २० दलित बालबालिका विद्यालय भर्ना भएको स्थानीय सरिता सदा बताउनुहुन्छ । यसका साथै सामाजिक परिवारकै सदस्यहरुको पहलमा दलित समुदायको २४ जनाले नागरिकता प्राप्त गरेका छन् ।

उमेर पुगेकादेखि ४५ वर्षसम्मका व्यक्तिले विभिन्न कारणले नागरिकता बनाउन सकेका थिएनन् । सामाजिक परिवारको सदस्यसमेत रहेकी सरिता भन्नुहुन्छ, “हामीले सक्रियतापूर्वक पहल गर्दा २४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।” यस्तै सामाजिक परिवारकै पहलमा दलित बस्तीका नौजना बालबालिकालाई जन्मदर्ता बनाउनाका साथै १० जोडीको विवाह दर्ता गर्नसमेत पहल गरेको सरिताको भनाइ छ ।

सामाजिक परिवारकै सहयोगमा गाउँकै चोकमा एउटा चौतारो बनाइएको छ । तत्कालीत गाविस कार्यालयबाट बजेट मागेर बस्तीमै सार्वजनिक भवन बनाइएको स्थानीय जितनी महराको कथन छ । राज्यबाट प्राप्त हुने अधिकारबारे बोल्न नसक्ने व्यक्तिहरु अहिले सामाजिक परिवारकै माध्यमबाट गाउँमा जनचेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालनपछि ती व्यक्ति आफ्ना समस्या निर्धक्क राख्न सक्ने भएका छन् । अहिले दलित समुदायका व्यक्ति आफ्नो कामकाज कार्यालयमा आफँै गएर गर्न र गराउन थालेका छन् ।

ती समुदायका व्यक्ति सामाजिक क्षेत्रमा मात्र होइन आयआर्जनतर्फ पनि अग्रसर भएका छन् । महिलाको सक्रियतामा कृषक समूह गठन गरिएको छ । समूहले जिल्ला कृषि कार्यालयबाट बीउबिजन प्राप्त गरेको छ । जिल्ला पशु कार्यालयबाट गोठ सुधार गर्न सामाजिक परिवारका सात सदस्यले रु १५ हजारका दरले रकम प्राप्त गरेर बाख्रापालन र गाईपालनमा सक्रिय भएका छन् ।

बस्तीका २१ दलित र नौ पिछडा वर्गका गरी ३० सदस्य आबद्ध रहेको रामसीता सामाजिक संस्थाका सदस्यले शुरुमा मासिक रु ५० र अहिले मासिक रु १०० का दरले बचत गर्न थालेको समग्र विकास सेवा केन्द्रकी उत्प्रेरक मञ्जुकुमारी महतो बताउनुहुन्छ । सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ८५ हजार पुगेको छ । उत्प्रेरक महतो भन्नुहुन्छ, “बचत रकम सामाजिक परिवारकै सदस्यलाई ऋण लगानी गर्ने गरेका छन् ।” दलित महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको महतोको बुझाइ छ ।

पछिल्लो समय दलित महिलामा आएको परिवर्तन लोभलाग्दो रहेको बताउँदै स्थानीय अगुवा श्यामकुमार महतोले यहाँको दलित बस्तीका महिलामा आएको चेतनाबाट अन्य ठाउँका महिलाले पाठ सिकेर अघि बढे छिट्टै समाजमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan