Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलात्कारका घटना र कानुनी सजाय

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ५ बुधबार |
newsabhiyan
newsabhiyan

वीरेन्द्रमणि पौडेल, जैविक आवश्यकताको रुपमा व्याख्या गरिने सम्भोग कार्य इच्छा र सहमतिको हो भने उमेर पुगेको हदसम्म चर्चा हुँदैन, कानुनले छुँदैन तर कसैको इच्छाविपरीत जबर्जस्तीवाला सम्भोगलाई बलात्कार भन्ने गरिएको छ र बलात्कार गर्ने पात्रलाई कम्तीमा नेपालमा ६ वर्षको जेल सजाय तोकिएको छ । अवस्था हेरी बालिका, वृद्धा र हाडनातामा फेरि थप सजाय तोकिएको छ ।

मानवजातिबाहेक पनि पृथ्वीमा अन्य हजारौँ प्रजातिका प्राणी छन् । सम्भोग र सहवासविना प्राणीको जन्म अपवादलाई छाडेर हुँदैन । सम्भोग र सहवास संसारका सबै प्राणीका बीच हुन्छ नै, तर अन्य प्राणीले इच्छाविपरीत सम्भोग गर्छन्÷गर्दैनन्, त्यो आजसम्म संसारका धेरै मान्छेलाई थाहा छैन ।

थाहा हुनेहरुले जानकारी यथेष्ट दिए वा दिएनन् वा आजसम्म जाँचपड्ताल भए वा नभएकोबारे पनि धेरैलाई थाहा छैन । चर्चा मान्छेकै हुन्छ, मान्छेले गर्ने बलात्कारकै विषयमा चर्चा, छलफल र बहस हुन्छ, भइरहेको छ । सामान्यतः बलात्कार पुरूषले स्त्रीलाई गर्छ ।

समूहमा मिलेर महिलाले पुरूषलाई बलात्कार गरेको घटना पनि यदाकदा नसुनिने होइन, तर शारीरिक तागतका हिसाबले पनि होला वा प्राकृतिकरुपमै भाले जाति केही ज्यादा हिंस्रक हुने हुँदा र कारण अरु पनि हुन सक्लान्, धेरैजसो बलात्कार गर्ने पात्र भाले जाति अर्थात् मान्छेको हकमा पुरूष नै हुन्छ ।

विश्वका सबै देशमा बलात्कारका घटना घटेका छन्, मात्रात्मकरुपमा कुनै देशमा ज्यादा संख्यामा र कुनैमा कम संख्या भएको फरकमात्रै हो ।

सरदर विश्वका आर्थिक, सामाजिक समृद्धि हासिल गरेका र विकसित कहलिएका देशमा बलात्कारका घटनाहरु कम भएका छन् । अविकसित, विकासोन्मुख र अर्धविकसित मुलुकहरुमा बलात्कारका घटनाहरु ज्यादा भएका छन्, प्रमाणहरुले तथ्यांककै आधारमा पुष्टि गरेका छन् ।

नेपाल विकसित देश आज पनि होइन । विकसित होला कुनै दिन, तर यतिबेलाको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई प्रमाण मानेर हेर्दा भन्न सकिन्छ– यो देश विकसित होइन, गरिबै हो । पछौटेपनको शिकार भएका जनता भएको देश हो । यही कारणले पनि हो, संसारका अन्य मुलुकको दाँजोमा यो देशमा बलात्कारका घटनाहरु ज्यादा भएका छन् ।

बलात्कारीलाई स्वास्थ्यका दृष्टिकोणले बिरामी अर्थात् मानसिक रोगीका रुपमा पनि व्याख्या गरिएको छ । ज्ञान र विवेकको कमी भएकाले पनि बलात्कार गर्छन् भनिएको छ । बलात्कारी साना–साना बालकहरु हुन सक्दैनन् । शारीरिकरुपले पूरै अशक्त वृद्धहरु पनि बलात्कारीका रुपमा दरिन सक्दैनन् ।

शरीरमा ऊर्जा भरिएका, शरीरभित्रको ऊर्जा खपत गर्नका लागि आतुर अपवादलाई छाडेर १४ वर्षभन्दा माथिका स्वस्थ पुरूषहरुले संसारमा बलात्कार गरेको घटना प्रमाणका रुपमा आएका छन् । नेपालमा पनि यही उमेरका पुरूषहरु बलात्कारीका रुपमा देखा परेका छन् ।

देशभरिका यतिबेला बलात्कारीहरुको रुपमा समातिएर जेल सजाय भोगिरहेकाहरुलाई बलात्कारपछिको परिणाम के हुन्छ थाहा नभएर बलात्कार गरेका होइनन्, न त यिनलाई कानुनी सजायबारे थाहा नभएर बलात्कार गरेका हुन् ।

बलात्कार गर्नका लागि धेरै कारण र अवस्था सिर्जना भएको हुनुपर्छ, तब बलात्कारजस्तो जघन्य अपराध हुनपुग्छ । जस्तो कि, कुनै एक पुरूष धनी छ । उसलाई लाग्छ, धनको बलमा कानुनलाई तल पार्छु र उम्किन्छु । यस्तो अवस्थामा नेपालजस्तो गरिब देशमा बलात्कार भएको देखिन्छ ।

नेपाल यस्तो देश हो जहाँका मानिसहरु सधैँभरि कसले के भन्छन् भन्ने सोचबाट तर्सिएका छन् । जसले जे पनि बोल्न छूट भएको देश एकातिर हो भने फेरि कसले के भन्छ भन्ने चिन्ताले रोगी भएका मान्छेहरुको बस्ती हो, नेपाल ।

इज्जत सबैका लागि प्यारो हुने विषय हो । नेपालमा आर्थिक भ्रष्टाचारीका रुपमा जेल जानु, चोरका रुपमा चिनिनु, गैरकानुनी सम्भोग कार्य वा सामाजिक मर्यादाविपरीतको महिला–पुरूषबीचको सम्बन्धलाई बेइज्जतका रुपमा लिइन्छ ।

फेरि कुनै महिला बलात्कृत भएको खबर सार्वजनिक हुनेबित्तिकै ती महिलाको इज्जत समाप्त भएको, इज्जत बाँकी नरहेको बुझ्ने बुझाइने गरिएको छ; मानौँ महिलाको इज्जत तिनको यौनांगमा छ वा केही संवेदनशील अंगमा छ ।

सोच्ने गरिन्छ कि संसार हाँक्न सक्ने महिलाको इज्जत तिनको बुद्धिमा छैन, विवेक र शिक्षा अनि सीपमा छैन । जब बलात्कार हुन्छ तब भनिन्छ र मानिन्छ कि ती महिलाको इज्जत सकियो ।

यही कारण यस्ता फाल्तु मान्छे र कंगाल विचारका संवाहकहरुले महिलाको त्यो तरिकाले इज्जतको लेखाजोखा गर्दा र त्यसले आजसम्म समाजमा स्थान पाएको हुँदा कुनै स्त्री बलात्कृत हुँदा पनि तिनले गुपचुप राख्ने चलन छ । यो अवस्थाको फाइदा उठाएर पनि यो नेपाली समाजमा महिलाहरु बलात्कृत भएका छन् ।

पद र राजनीतिक शक्तिको दुरूपयोग हुने ऐतिहासिक गल्तीले पनि यो देशमा बलात्कारका घटना बढ्नमा एउटा कारण थपेको छ ।

बलात्कार गर्दा जेल सजाय हुन्छ भन्ने थाहा छ तर आफू वा आफ्ना नाताका कोही माथिल्लो सरकारी पदमा छन् वा राजनीतिक शक्तिका हिसाबले स्थापित छन्, त्यस्तो अवस्थामा पनि शक्ति र पदको दुरूपयोग गरेर कानुनी सजायबाट उम्किने विश्वास वा भरोसामा मान्छेहरु बलात्कार गर्न तम्सिएको भेटिएको छ ।

रोजगारी प्राप्त भएका मान्छेहरु बेफुर्सदी हुन्छन्, तर सम्पूर्णरुपले बेरोजगार पुरूषको मानसिक अवस्था ठीक ठाउँमा नहुने हुँदा पनि त्यस्ता मान्छेहरु बलात्कारजस्तो घृणित र जघन्य अपराधमा संलग्न भएको भेटिएको छ ।

नेपालमा बेरोजगारहरुको भयावह संख्या पनि बलात्कारको घटना वृद्धिका लागि कारण बनेको छ । पुष्टिका लागि जापानका फुर्सद नभएका पुरूषहरुको यो अवस्थालाई यसरी व्याख्या गर्न सकिन्छ कि जापनिज पुरूषहरु बिहानदेखि बेलुकासम्म कामैकाममा व्यस्त रहन्छन् । सामान्यतः त्यहाँ कोही बेरोजगार छैनन् ।

श्रीमतीसँग सम्भोगका लागि पनि उस्तै परे तीन महिनामा एकपटक मौका जुर्ने तिनै पुरूषहरुले बताएका छन् । जब कि, श्रीमतीसँगको वैधानिक सम्भोगका लागि त फुर्सद पाउँदैनन् भने अन्य स्त्रीलाई बलात्कार गर्ने विषय तिनको सोचभन्दा निकै टाढाको विषय हो । तर दुर्भाग्य ! नेपालमा रोजगार पुरूषहरुको संख्या सजिलै गन्न सकिन्छ, बेरोजगारहरुको संख्या गनिसाध्ये छैन ।

यस्ता केही कारण र अवस्थाले नेपालमा महिला बलात्कृत हुने गरेका छन् भने यतिबेला पनि सबैले चासोपूर्वक नियालिरहेका कञ्चनपुर निर्मला पन्त बलात्कार र हत्याकाण्डपछि पनि यिनै कारणहरुमध्ये एक कारण हुनुपर्छ ः शक्ति, पद, धन, मानसिक असन्तुलन र बेरोजगारी ।

बलात्कार घोर अमानवीय कार्य हो । यो अमानवीय कार्यबाट नेपाललाई पूरै अलग राख्नुपर्छ । यो देशमा आर्थिक विकास ढिला होस्, रेल र पानीजहाज बरू पाँच वर्षपछि सञ्चालनमा आऊन् केही फरक पदैन, तर चाँडोचाहिँ कुनै पनि नेपाली चेली बलात्कारको शिकार नहुने अवस्था सिर्जना गर्नुपर्छ ।

त्यसका लागि स्त्री संसारका सबै प्राणीमध्ये एक नम्बरको उत्कृष्ट प्राणीका रुपमा सबैले स्वीकार्नुपर्छ । स्त्रीविना, स्त्री संरक्षणविना, तिनको सम्मानविना मानवसंसार एक मिनेट पनि चल्न सक्दैन भन्ने कुरा सबैले महसुस गर्नुपर्छ ।

स्त्रीलाई हेप्ने, कुट्ने, कोपर्ने, थिच्ने, दाइजोको निहँु झिकेर मट्टीतेल खन्याउने काम बन्द गर्नुपर्छ । अबउप्रान्त कसैले पनि बलात्कारीलाई पद र राजनीतिक शक्तिको दुरूपयोग गरेर जोगाउने काम बन्द गर्नुपर्छ । धनको दुरूपयोग होइन सदुपयोग गर्नतर्फ लाग्नुपर्छ ।

मानसिक सन्तुलन ठीक नभएका हरेकलाई समाजमा खुला छाड्नुका सट्टा उपचारका लागि अस्पतालमा भर्ना गर्नुपर्छ । कामलाई सानो–ठूलो भन्न नहुने प्रचारप्रसारसहित नेपालमा हरेक नागरिकलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ ।

यो तरिका यदि अपनाउने हो भने नेपालबाट बलात्कारजस्तो जघन्य अपराध घट्न सक्छ । यस्ता तरिका अपनाउँदा सभ्य समाज स्थापनामा मद्दतसमेत मिल्न सक्छ ।

तर, यति गर्दा पनि मुलुकमा बलात्कारको घटना घटेन र मानवसंसारको सुन्दर फूलका रुपमा व्याख्या गरिने स्त्रीजाति संकटमा पर्ने क्रम घटेन भने मुलुकभित्रका केही उपयुक्त स्थानमा “रेडलाइट एरिया” सञ्चालन गर्न पो पर्छ कि ?

त्यसतर्फ पनि सोच्दा खेर जाँदैन । आखिर जसरी पनि नेपाली छोरीचेली त जोगाउनैप¥यो । जनसंख्या सन्तुलनमा राख्न त प¥यो, प¥यो । चितवन पोष्टका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan