Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महाभारत–चिन्तन : दुःखको स्वरुप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २५ बुधबार |
newsabhiyan
newsabhiyan

डा. मतिप्रसाद ढकाल, भीमसेन, अर्जुन र नकुलपछि सहदेवले युधिष्ठिरलाई ममता र आसक्तिले रहित भएर राज्य गर्ने सल्लाह दिन्छन् । केवल बाहिरी द्रव्यको त्याग गर्नाले सिद्धि मिल्दैन । शरीरसम्बन्धी द्रव्यको त्याग गर्नाले पनि सिद्धि मिल्छ कि मिल्दैन भन्ने कुरामा शङ्का छ ।

बाहिरी द्रव्यहरुबाट टाढा रहेर दैहिक सुखभोगहरुमा आसक्त रहने व्यक्तिलाई जुन धर्म वा जुन सुख प्राप्त हुन्छ त्यही रुपमा हाम्रा शत्रुहरुलाई नै मिलोस् परन्तु शरीरको उपयोगमा आउने द्रव्यहरुको ममता त्यागेर अनासक्तभावले पृथिवीको शासन गर्ने राजालाई जुन धर्म वा जुन सुखको प्राप्ति हुनेछ त्यो हाम्रा हितैषी सुहृद्हरुलाई मिलोस् ।

दुई अक्षरको ‘मम’ अर्थात् यो मेरो हो भन्ने भाव मृत्यु हो र तीन अक्षरको ‘न मम’ अर्थात् यो मेरो होइन भन्ने भाव अमृत वा सनातन ब्रह्म हो—
द्व्यक्षरस्तु भवेन्मृत्युस्त्युस्त्र्यक्षरं
ब्रह्म शाश्वतम् ।
ममेति च भवेन्मृत्युर्न
ममेति च शाश्वतम् ।।
(महाभारत, १२।१३।४)

मृत्यु र अमृत ब्रह्म दुवै आपैmभित्र रहेका छन् । अदृश्यभावले रहेर तिनले नै प्राणीहरुलाई एकआपसमा लडाउँछन् भन्ने कुरामा शङ्का छैन । ‘अविनाशोऽस्य सत्त्वस्य नियतो यदि भारत, हत्वा शरीरं भूतानां न हिंसा प्रतिपत्स्यते’ (पूर्ववत्, १२।१३।६) अर्थात् यदि यो जीवात्माको अविनाशी हुनु निश्चित छ भने प्राणीहरुको शरीरको वध गर्नाले मात्र प्राणीको हिंसा हुन सक्तैन ।

यसका विपरीत यदि शरीरका साथै जीवको उत्पत्ति तथा त्यसको नष्ट हुनासाथ जीवको नाश हुन्छ भन्ने कुरा मान्ने हो भने शरीर नष्ट हुँदा जीव पनि नष्ट हुनेछ त्यस अवस्थामा सारा वैदिक कर्ममार्ग नै व्यर्थ सिद्ध हुनेछन् । त्यसैले विज्ञ व्यक्तिले एकान्तमा रहने विचार छाडेर पूर्ववर्ती र अत्यन्त पूर्ववर्ती श्रेष्ठ व्यक्तिहरुले जुन मार्गको अवलम्बन गरेका थिए त्यसैको आश्रय लिनुपर्छ ।

वनमा रहेर वनकै फलपूmल खाएर जीवन निर्वाह गर्दै गरे तापनि जुन व्यक्तिको द्रव्यहरुमा ममता रहिरहन्छ त्यो मृत्युकै मुखमा छ । प्राणीहरुको बाह्य स्वभाव एउटा र आन्तरिक स्वभाव अर्कै हुन्छ भन्ने कुरा गम्भीर भएर विचार गर्नुपर्छ ।

‘ये तु पश्यन्ति तद् भूतं मुच्यन्ते ते महाभयात्’ (पूर्ववत्, १२।१३।११) अर्थात् जसले सबैभन्दा भित्र विराजमान परमात्मालाई देख्छन् ती महान् भयबाट मुक्त हुन्छन् । यसरी सहदेवले युधिष्ठिरलाई तपाईं नै मेरा पिता, माता, भ्राता र गुरू हुनुहुनछ, मैले दुःखी भएर दुःखमा जेजे प्रलाप गरेँ ती सबैलाई हजुरले क्षमा गरिदिनुहोस् र हजुरप्रतिको भक्तिभावका कारण मैले भनेका कुरालाई विचार गर्नुहोस् भन्ने अनुरोध गरेका हुन् ।

सहदेवपछि द्रौपदीले युधिष्ठिरलाई राजदण्डधारणपूर्वक पृथ्वीको शासन गर्नका लागि प्रेरित गर्छिन् । ‘न क्लीबो वसुधां भुङ्क्ते न क्लीबो धनमश्नुते, न क्लीबस्य गृहे पुत्रा मत्स्याः पङ्क इवासते’ (पूर्ववत्, १२।१४।१३) अर्थात् जो कायर र नपुंसक छ त्यसले पृथ्वीको उपभोग गर्न सक्तैन, त्यसले न त धनको उपार्जन गर्न सक्छ र न त्यसको भोग नै गर्न सक्छ ।

जसरी केवल हिलामा माछाहरु हुँदैनन् त्यसैगरी नपुंसकका घरमा सन्तानहरु पनि उत्पन्न हुँदैनन् । जसले दण्ड दिन सक्तैन त्यस्ता क्षत्रियको शोभा हुँदैन, दण्ड नदिने राजाले यस पृथ्वीको उपभोग गर्न सक्तैन । दण्डहीन राजाका प्रजाहरुलाई कहिल्यै सुख प्राप्त हुँदैन ।

‘मित्रता सर्वभूतेषु दानमध्ययनं तपः, ब्राह्मणस्यैव धर्मः स्यान्न राज्ञो राजसत्तम’ (पूर्ववत्, १२।१४।१५) अर्थात् समस्त प्राणीहरुप्रति मैत्रीभाग राख्नु, दान लिनु, दान दिनु, अध्ययन र तपस्या गर्नु यी सबै ब्राह्मणका धर्म हुन्, राजाका होइनन् भन्दै द्रौपदीले राजाहरुको परमधर्म त दुष्टहरुलाई दण्ड दिनु, सत्पुरूषहरुको पालन गर्नु र युद्धमा कहिल्यै पीठ नफर्काउनु हो भनेर युधिष्ठिरलाई सन्न्यास होइन राज्यभार सम्हाल्न अनुरोध गरेकी हुन् ।

द्रौपदीपछि पुनः अर्जुनले युधिष्ठिरका सामु राजदण्डका महत्ताको वर्णन गर्छन् । दण्डले धर्म, अर्थ र कामको रक्षा गर्ने भएकाले यसलाई त्रिवर्गरुप भनिन्छ । कतिपयले राजदण्डको भयले, कतिपयले यमदण्डको भयले, कतिपयले परलोकको भयले र कतिपयले एकअर्काको भयले पाप गर्दैनन् ।

लोकको यस्तो स्वाभाविक स्थिति रहेकाले सबै चीज दण्डमै प्रतिष्ठित रहेको देखिन्छ । दण्डले रक्षा नगर्ने हो भने सबैजसो व्यक्तिहरु घोर अन्धकारमा डुब्नेछन् । ब्राह्मणले अपराध गरेमा वाणीद्वारा अपमानित गर्नु नै उसको दण्ड हो । क्षत्रियलाई भोजनमात्रका लागि तलब दिएर काम लगाउनु दण्ड हो । वैश्यलाई धन असुल गरेर दण्ड दिइन्छ भने शूद्र दण्डरहित मानिएकाले उसबाट निःशुल्क सेवा लिइन्छ—

वाचा दण्डो ब्राह्मणानां
क्षत्रियाणां भुजार्पणम् ।
दानदण्डाः स्मृता वैश्या
निर्दण्डः शूद्र उच्यते ।।
(पूर्ववत्, १२।१५।९)

ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्न्यासी यी सबै दण्डकै भयले आआफ्ना मार्गमा स्थिर रहन्छन् । भयविना कसैले पनि यज्ञ गर्दैन, भयविना कसैले पनि दान गर्न चाहन्न र दण्डको भय नहुने हो भने कुनैपनि व्यक्ति मर्यादा र प्रतिज्ञाको पालनामा पनि स्थिर रहन चाहँदैन । इन्द्र वृत्रासुरलाई दण्ड दिएर नै महेन्द्र भएका हुन् ।

जुन देवताले बढ्ता दण्ड दिन्छन् संसारमा उनैको बढ्ता पूजा गरिन्छ । संसारमा दण्डको व्यवस्था नहुने हो भने सारा प्रजा नष्ट हुनेछन् र पानीमा ठूला माछाले साना माछालाई खाएभैंm बलवान्ले दुर्बललाई आफ्नो आहार बनाउनेछन् । त्यसैले निश्चिन्त भएर दण्डविधानसहित राज्यभार वहन गर्न अर्जुनले युधिष्ठिरलाई आग्रह गरेका हुन् ।

पुनः भीमसेनले राजा युधिष्ठिरलाई भोगिसकेका दुःखहरुको स्मरण गराउँदै मोह छाडेर मनलाई वशमा राखी राज्यशासन र यज्ञ गर्नका लागि प्रेरित गर्छन् । ‘अब बोल्दिनँ’ भनेर निश्चय गरे पनि मनमा अत्यधिक दुःख भएकाले उनले आपूm बोल्न बाध्य भएको बताउँछन् । मान्छेलाई दुई प्रकारका व्याधि वा दुःख हुन्छन्— एउटा शारीरिक र अर्को मानसिक । यी दुवैको उत्पत्ति एकअर्काबाट हुन्छ ।

एउटाविना अर्को दुःखको उत्पत्ति सम्भव छैन । कहिले शारीरिक दुःखबाट मानसिक दुःख उत्पन्न हुन्छ भने कहिले मानसिक दुःखबाट शारीरिक दुःखको उत्पत्ति हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन । जुन व्यक्तिले बितेको मानसिक वा शारीरिक दुःखका लागि बारम्बार शोक गर्दछ त्यस्ता व्यक्तिले एउटा दुःखबाट अर्को दुःख निम्त्याउँछ, जसका कारण त्यस्ता व्यक्तिले दुई दुईवटा अनर्थहरु भोग्नुपर्दछ—

शारीरं मानसं दुःखं
योऽतीतमनुशोचति ।
दुःखेन लभते दुःखं
द्वावनर्थौ च विन्दति ।।
(पूर्ववत्, १२।१६।१०)

सर्दी, गर्मी र वायु अर्थात् कफ, पित्त र वात यी तीन शारीरिक गुण हुन् । यी गुणहरुको साम्यावस्थामा रहनु नै स्वस्थताको लक्षण हो । यी तीनमध्ये यदि कुनै एउटाको वृद्धि भयो भने त्यसको चिकित्सा वा उपचार गर्नुपर्छ । उष्ण द्रव्यबाट सर्दी र शीत पदार्थबाट गर्मीको निवारण हुन्छ । स¤व, रज र तम यी तीन मानसिक गुण हुन् ।

यी तीनै गुणहरुको सम अवस्थामा रहनुलाई मानसिकरुपमा स्वस्थ रहनु भनिन्छ । यीमध्ये कुनै एउटाको वृद्धि भएमा त्यसको उपचार गर्नुपर्छ । हर्ष वा स¤वद्वारा शोक वा रजोगुणको निवारण गरिन्छ भने शोकद्वारा हर्षको निवारण गरिन्छ ।

‘कश्चित् सुखे वर्तमानो दुःखस्य स्मर्तुमिच्छति, कश्चिद् दुःखे वर्तमानः सुखस्य स्मर्तुमिच्छति’ (पूर्ववत्, १२।१६।१५) अर्थात् कसैले सुखमा रहेर दुःखका कुराहरुको याद गर्न चाहन्छ भने कसैले दुःखमा रहेर सुखका कुराहरुको स्मरण गर्न चाहन्छ परन्तु तपाईं न दुःखी भएर दुःखको, न सुखी भएर सुखको, न दुःखको अवस्थामा सुखको र न सुखको अवस्थामा दुःखको कुरा याद गर्न चाहनुहुन्छ किनकि भाग्य अत्यन्त प्रबल छ वा तपाईंको स्वभाव नै यस्तो छ जसका कारण तपाईं व्यर्थैमा दुःख उठाइरहनुभएको छ भनेर भीमसेनले युधिष्ठिरलाई पैतृक आचरणहरुमा रहेर यथोचित रुपले राज्यको शासन गर्न अनुरोध गरेका हुन् ।

गाडीका चक्काजस्तै दुःख र सुख भन्ने कुरा तलमाथि भइरहन्छन् । सांसारिक महासागरमा दुःख र सुखको उत्रिने र डुब्ने क्रम चलिरहन्छ । सुखमा नमात्तिने अनि दुःखमा नआत्तिने मान्छे अत्यन्त कम हुन्छन् र तिनै कम व्यक्तिले नै बढ्ता सुखको अनुभूति गरिरहन्छन् । सुख पाउँदा दुःख बिर्सने र दुःख पाउँदा सुख बिर्सनेहरु नै जीवनमा बढ्ता दुःखी भइरहन्छन् । दुःख यात्रा हो भने सुख विश्राम ।

दुःखको यात्रा नगरीकन जीवनको गन्तव्य भेट्न सकिँदैन र सुखको चौतारीमा थकाइ नमेटाईकन दुःखको यात्रालाई जारी राख्न पनि सकिँदैन । दिन र रातजस्तै सुख र दुःख दुवै हाम्रो जीवनका सहयात्री हुन्, जसलाई अलग्याएर हामीले एक्लै यात्रा गर्न सक्तैनौं । जहाँ सुख छ त्यसले दुःखलाई अवश्य निम्त्याउँछ अनि जसलाई दुःख छ त्यसले निश्चय नै सुखलाई अङ्कमाल गर्नेछ ।

मैले सुख पाइरहेको छु भन्न नपाउँदै सुखको घाम अस्ताउन थाल्छ भने मलाई दुःख भइराखेको छ भन्न नपाउँदै हाम्रा सामु सुखरुपी बिहानी सूर्यका किरणहरु छरिन थालेका हुन्छन् । त्यसैले दुःखले चाहेर पनि हामीलाई सदैव रूवाइरहन सक्तैन अनि सुखलाई चाहेर पनि हामीले सधैं अङ्कमाल गरिरहन सक्तैनौं । (सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर) चितवन पोष्टका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan