नवनिर्मित गुम्बाको छत चर्किएपछि निर्माण गुणस्तरमाथि प्रश्न
बलिराम शुक्ला, बिरुवागुठी, २५ साउन । पर्सागढी नगरपालिका–३ स्थित आमोदेवी मन्दिर परिसरमा नव निर्मित गुम्बा भवनको निर्माण सम्पन्न भएको छोटो समयमैं छत, पिलर र बीममा क्षति देखिएपछि निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठेको छ।
स्थानीय व्यक्तिहरूका अनुसार भवनको छतको बीच भाग चर्किनुका साथै पिलर र बीमसमेत फुटेका छन्। सार्वजनिक बजेटबाट निर्माण गरिएको भवनमा यति छिट्टै क्षति देखिएपछि स्थानीयवासीले निर्माणमा गुणस्तरहीन सामग्री तथा कमजोर निर्माण प्रविधि प्रयोग भएको आरोप लगाएका छन्।
मधेस प्रदेश सरकारबाट विनियोजित २० लाख रुपियाँको बजेट पर्यटन विकास कार्यालय, पर्सामार्फत उपभोक्ता समिति गठन गरी गुम्बा भवन निर्माण गरिएको बताइएको छ। स्थानीयले उपभोक्ता समितिले कमिशनको खेल भएको आरोप लगाउँदै छानबीनको माग गरेका छन्।
निर्माणको गुणस्तरमाथि प्रश्न उठेपछि चर्किएको छत तथा फुटेका बिम र पिलरमा प्लास्टर गरेर समस्या ढाकछोप गर्ने प्रयास गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्। सो क्रममा स्थानीय र निर्माण पक्षबीच भनाभनसमेत भएको स्थानीय युवा प्रकाश पाख्रिनले बताए।
स्थानीय बासिन्दाले भवनको तत्काल स्थलगत निरीक्षण गरी प्राविधिक परीक्षण गर्न माग गरेका छन्। उनीहरूले निर्माणको लागत, प्रयोग भएका सामग्री, प्राविधिक मापदण्ड, उपभोक्ता समितिको भूमिका तथा ठेकेदारमार्फत काम गराइएको विषयमा छानबीन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा पर्यटन विकास कार्यालय, पर्साका इन्जिनीयर दिपु यादवले प्रतिक्रिया दिन अस्वीकार गरे। निर्माणमा अनियमितता वा कमसल सामग्री प्रयोग भएको आरोप पुष्टि हुन भने सम्बन्धित निकायबाट प्राविधिक परीक्षण तथा छानबीन आवश्यक देखिन्छ। प्रतीक दैनिकबाट ।
