मनकामना केबलकार मङ्गलबार बन्द रहने
नारायणगढ (चितवन), १९ असोजः चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बताउनुभयो ।
शेरचनले भन्नुभयो, “टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो ।” उहाँका अनुसार बुधबारदेखि केबलकार सेवा नियमित सञ्चालनमा आउनेछ । केबलकार बन्द गरी टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिने उहाँले बताउनुभयो ।
उहाँले सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत गराइएको बताउनुभयो । यसबाट पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ ।
