Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)

महेन्द्रनगर, १९ असोजः तीन वर्षअघि भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरमै अध्ययन गरेर एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भीमदत्त नगरपालिकाले सम्मान गर्‍यो । 

    घरको आर्थिक अवस्था कमजोर भएका सार्कीले तयारीका लागि रकम नभएपछि स्वअध्ययनका आधारमा प्रवेश परीक्षामा नाम निकाल्नुभएको थियो । घरमै बसेर एमबिबिएसमा नाम निकालेको भन्दै उहाँको त्यसबेला सबैतिर चर्चा भयो । 

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत सार्कीलाई भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन छात्रवृत्ति उपलब्ध गराएको छ । 

    “भीमदत्त नगरपालिकाले सम्मानसहित छात्रवृत्ति रकम गत वर्ष पनि दिएको थियो”, उहाँले रासससँगको कुराकानीमा भन्नुभयो, “ छात्रवृत्ति रकमले शैक्षिक सामग्री र अन्य खर्च व्यवस्थापनमा सहज भएको छ ।”
        
    भीमदत्त नगरपालिका शिक्षा शाखाका अधिकृत कलावती मिश्र भट्टले एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई पालिकाबाट रु दुई लाखका दरले छात्रवृत्ति रकम प्रदान भइरहेको जानकारी दिनुभयो । 

    ललितसँगै भीमदत्त नगरपालिकाकै अर्का विद्यार्थी लोकेश भट्ट पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययरत हुनुहुन्छ । कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पालिकामा बसोबास गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिले अध्ययनमा धेरै सजिलो भएको छ । 
    
    अमृता मल्ल नेपाल वेष्र्टन एकेडेमीमा बिबिएस अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिस्वरुप रु ५० हजार प्रदान गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत आर्थिक वर्षदेखि यहाँ नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने भन्दै ‘छोरी–बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको छ ।

    भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सो कार्यक्रमबाट सात जना छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । गत वर्ष सात जना छोरी र बुहारीलाई अध्ययनका लागि रु चार लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरिएको उपप्रमुख लेखकको भनाइ छ । 

    “आर्थिक अभावका कारण छोरी–बुहारी अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “ शिक्षा र स्वास्थ्यमा नगरपालिकाले प्राथमिकताका साथ बजेट उपलब्ध गराएको छ ।”

    भीमदत्त नगरपालिकाले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीले प्राविधिक शिक्षालाई नै प्राथमिकतामा राखेका छन् । एमबिबिएस, इञ्जिनियरिङ, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan