अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपतकालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओचा) का अनुसार, नोभेम्बरदेखि अप्रिलसम्मको कठिन हिउँदमा खाद्य सङ्कट थप गम्भीर बन्ने सम्भावना छ । यस सङ्कटले विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ ।
ओचाकी अफगानिस्तानस्थित प्रवक्ता ओल्गा चेरेभकोले सेप्टेम्बर र अक्टोबरमा एक करोड ५९ लाख अफगान नागरिकले सङ्कटपूर्ण वा त्योभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरेको बताउनुभयो । तीमध्ये ३४ लाख मानिस आपतकालीन अवस्थामा थिए ।
उहाँका अनुसार, हिउँदसम्म खाद्य असुरक्षाको अवस्था झनै बिग्रनेछ । आवश्यक सहयोग समयमै उपलब्ध गराउन नसके लाखौँ मानिस गम्भीर सङ्कटमा पर्ने जोखिम छ ।
चेरेभकोले आगामी वर्ष छ महिनादेखि पाँच वर्ष उमेर समूहका ४० लाखभन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको उपचार आवश्यक पर्ने बताउनुभयो । तीमध्ये १० लाखभन्दा बढी बालबालिका गम्भीर तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान छ ।
उहाँले हिउँदअघि नै खाद्य सहायता उपलब्ध गराउन, पशुधन र कृषि सम्पत्तिको संरक्षण गर्न तथा किसानलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य, पोषण र खानेपानी सेवाको पहुँच कायम राख्न पनि उहाँले आग्रह गर्नुभयो ।
सहायता अभावले सङ्कट थप गम्भीर
अफगानिस्तानमा आर्थिक कठिनाइ, खडेरी, वर्षौँदेखिको द्वन्द्व र अन्तरराष्ट्रिय सहायतामा आएको कमीले खाद्य सङ्कट थप चर्काएको छ । देशभरका करिब एक तिहाइ पोषण केन्द्रले आर्थिक अभावका कारण सेवा बन्द गरेका वा स्थगित गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, अगस्टको अन्त्यसम्म अफगानिस्तानमा जीवनरक्षक सहायता उपलब्ध गराउन आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्रै प्राप्त भएको थियो ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अन्तरराष्ट्रिय सहायता घटेको छ । महिलाको शिक्षा र सार्वजनिक जीवनमा सहभागितामाथि लगाइएका प्रतिबन्धका कारण तालिबान सरकार अन्तरराष्ट्रिय समुदायबाट पनि व्यापक रूपमा अलग रहँदै आएको छ ।
यसैबीच, प्राकृतिक विपद् तथा सन् २०२३ यता इरान र पाकिस्तानबाट लाखौँ अफगान नागरिक फर्काइएका कारण मानवीय सङ्कट थप जटिल बनेको छ ।
यस वर्ष राम्रो वर्षा र कृषि उत्पादनले केही राहत दिए पनि त्यसले वर्षौँको खडेरीबाट भएको क्षति पूर्ति गर्न नसक्ने राष्ट्रसङ्घले जनाएको छ । खाद्य सङ्कट खाद्यान्नको उपलब्धतासँगै त्यसलाई किन्न सक्ने आर्थिक क्षमतासँग पनि जोडिएको छ ।
ओचाले मानवीय सहायताले तत्काल ज्यान बचाउन सक्ने भए पनि दीर्घकालीन आर्थिक अवसर र सार्वजनिक सेवाको अभाव समाधान गर्न पर्याप्त नहुने जनाएको छ ।

