Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | (रासस)

राँझा (बाँके), १५ कात्तिकः  निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ ।

    आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत सङ्कलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो ।

    सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत सङ्कलन गरिएको हो ।

    “सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ ।”

    पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत सङ्कलनका लागि छलफल गरिएको उहाँले बताउनुभयो ।

    आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ ।

    आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । हालसम्म पूर्वाधार निर्माणमा करिब रु २४ अर्ब खर्च भएको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो ।

    आर्थिक वर्ष २०६२÷६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।

    नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan