यी दुईमा छ सम्बन्धको साँचो
काठमाडौं, १७ कात्तिक । भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्ती गरेको छ । नेपालले भारतका लागि नयाँ राजदूतमा निश्चलनाथ पाण्डेलाई नियुक्त गरिसकेको छ ।
दुबै राजदूतको एग्रिमो आउने र जाने प्रतिक्षा रहेको छ । छिट्टै दुबै देशका नयाँ राजदूतले पदभार ग्रहण गरेपछि नेपाल–भारतवीचको सम्बन्धले नयाँ खालको यू टर्न लिने विश्वास केही कूटनीतिज्ञहरूले गरेका छन् ।
कारण, निश्चल नाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका पुत्र र परराष्ट्रविदका रूपमा पनि चिनिन्छन् । हुन त रमेश नाथ पाण्डेले राजा ज्ञानेन्द्रलाई बंगलादेशमा भएको सार्क सम्मेलनमा चीनको पक्षमा वकालत गर्न लगाएर भारतलाई चिढाएको र त्यसपछि राजाको पक्षबाट ओझेल भएका थिए ।
यी सबै ज्ञान भएका र आधुनिक अर्थराजनीति र भूराजनीतिको सुक्ष्म ज्ञान राख्ने निश्चलनाथ पाण्डेले रास्वपा सरकारको नीति बुझेर नेपाल भारतवीचका समस्या सुल्झाउन र सम्बन्धलाई सामान्यीकरण गर्नसक्ने ल्याकत राख्ने मानिन्छ ।
नेपालका लागि भारतीय राजदूत दलेल अर्थविद पनि हुन् । कुशल कूटनीतिक अनुभवी रहेका छन् । इजरायलदेखि ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका दलेला भारतका छिमेकी मुलुक र नेपाल मामिलाका जानकार मानिन्छन् ।
नेपाल र भारत दुबैतिर सम्बन्धलाई सुदृढ कसरी बनाउन सकिन्छ भन्ने सकारात्मक सोच भएका राजदूत नियुक्त भएकाले धेरै आशा राखिएको छ ।
नेपाल–भारत वीचको कूटनीतिक सम्बन्धलाई रिसेट गर्ने कि रणनीतिक रूपमा पुनर्विचार गरेर सहजीकरण गर्दै सम्बन्धलाई विशिष्टिकरणका रूपमा स्थापित गर्ने भन्ने बहस चलेको छ ।
खासगरी नतिजामुखी भ्रमण भए भारत भ्रमणमा जान्छु भन्ने प्रम बालेन साहको चट्टानी अडानले छिटै परिणाम दिने भएको छ । प्रम बालेन साह भारत जाने होमवर्क सुरू भइसकेको छ ।
केही दिन अघि अर्थमन्त्री दिल्लीमा भएका एनडीटीभीको एक कार्यक्रममा सहभागी हुँदा पनि प्रम बालेनको भारत भ्रमणको तैयारीको खुलासा गरेका थिए ।
नेपाल भारत र चीनवीच रहेकाले भूराजनीतिक बहस भारत चीन केन्द्रित छन् । वालेन सरकारको नीति पनि छिमेकी प्राथमिकतामै रहेका छन् । तर अमेरिका, युरोप र रूसको समेत नेपालमा चाख र चासो बढेकाले भूराजनीतिको भूमरीको क्षेत्र नेपाल बनेको छ ।
भारत र चीनसँगको सम्बन्ध अपरिहार्य सम्बन्ध हो । १८८० किलोमिटर खुला सीमा भएकाले भारतसँगको सम्बन्ध टुटाउन सकिन्न । चीनसँगको सम्बन्ध पनि अनिवार्य सम्बन्ध हो । दुबै मुलुक रणनीतिक साझेदार मुलुक हुन् ।
नेपालको परराष्ट्रनीति सुरक्षा, भूराजनीति, साझेदारी अनेक दृष्टिबाट संवेदनशील रहेका छन् । द्विपक्षीय सम्बन्ध, अन्य साझेदार विश्वसँगको सम्बन्ध, नेपाल–भारत–चीनवीचको त्रीपक्षीय सम्बन्ध, सार्क–बिमिस्टेक–बिआरआई र एमसीसी, विश्वमञ्चमा नेपालको उपस्थिति र हैसियत सबैतिर नेपालले फुकी फुकी कदम चाल्नुपर्नेछ ।
नेपाल पटक पटक विपदमा पर्ने गरेको छ । यसकारण विपद् व्यवस्थापनका विश्व निकायहरूसँग पनि नेपाल निकट हुनैपर्नेछ । जनताप्रति जवाफदेही, विश्वसमुदायसँग स्पष्ट सम्बन्धका आधार, आन्तरिक रूपमा राजनीतिक स्थिरता, आर्थिक सुरक्षा र ऊर्जा सुरक्षामा पनि ध्यान दिनैपर्ने अवस्था छ ।
नेपालको भारत र चीनसँग सुरक्षा, सीमा र व्यापार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ । नेपालको भारत र चीनवीच कार्यरत प्रभावहीन अनेक संयन्त्र छन् । जसले समस्या पहिचान र सामान्यीकरणमा जटिलता उत्पन्न गराएका छन् ।
अब नेपालले छिमेक सम्बन्धलाई दिगो र दूरगामी कूटनीतिमा रूपान्तरण गर्नुपर्छ । छिटो छिटो सरकार परिवर्तन हुँदा सम्वन्ध र नीतिमा प्रभाव नपर्ने नीति आवश्यक छ । कूटनीतिक तनाव न्यून हुनुपर्छ र भूराजनीतिको तहमा प्रतिरोध नहुने स्थितिको सिर्जना गर्नुपर्छ ।
जसले देशको स्थायित्व कायम हुन्छ । नेपाल असफल हुने विन्दुमा पुग्यो भन्ने भाष्य सुनिन्छ, यसको कारण नीतिको तरलताले हो । जनअपेक्षा संवोधन हुनैपर्छ, स्पष्ट कूटनीतिले त्यो सम्भव छ ।
यतिबेला अवसर आएको छ । नेपालका प्रम वालेन साहले भारत र चीन तथा विश्वमञ्चमा नेपाललाई स्पष्ट रूपमा प्रस्तुत गर्नैपर्छ । जति पनि समस्याहरू छन्, उपल्लो तहबाट समाधान निकालिनुपर्छ ।
समस्या बल्झाउनाले क्रोनिक भएको छ । नेपाल दिल्ली र बेइजिङ केही घण्टामा पहुँच राख्छ । यो अवसरलाई विद्यमान मुद्दाहरूको छिनोफानो गरेर सम्बन्धलाई विशिष्टिकरण र सरलीकरण गर्न सकिन्छ ।
नेपालको यथार्थ छिमेक र विश्वलाई अवगत गराउनुपर्छ । सुरक्षाका सम्बन्धमा नेपालले छिमेक र विश्वसँग सहकार्य गर्नुपर्छ र खासगरी आतंकवादलाई परास्त गर्न सकृयता देखाउनुपर्छ । सुरक्षाको सन्तुलित नीति नेपालको प्राथमिकतामा पर्नुपर्छ । नेपालको दुबै छिमेकसँगको सम्बन्धको ऐतिहासिक महत्व रहेको छ ।
नेपालको छिमेक सम्बन्ध सीमाको व्यवस्थापनमा बढी निर्भर रहेको छ । स्थिर सरकार रहेकाले सुरक्षा ढाँचा र समस्या समाधानमा डाइनामिजमको नीति अख्तियार गर्नु उचित हुनेछ ।
स्थिर सरकार भएकाले आन्तरिक र बाह्य दुबैतिर जिम्मेवारी र जवाफदेहिताको स्पष्टतामा नेपालको हित निहित रहनसक्छ । व्यवस्था गर्न देशको आन्तरिक सुरक्षा संरचनाको पुनरावलोकन गरिनुपर्छ।
प्रम बालेन स्पष्ट छन्, उनले स्थापित गर्ने सम्बन्धका आधारहरू पनि पारदर्शी र न्यायसंगत हुनुपर्ने देखिन्छ । यसकारण नेपालका छिमेक र विश्वसम्बन्धलाई रिसेटभन्दा पनि पुनर्पपरिभाषित गरी सहज पारेर जेनजी सरकारले छिमेक र विश्वलाई लेनदेनभन्दा माथि उठेर सम्बन्धलाई पारस्परिक लाभमा आधारित बनाउनु पर्नेछ ।
प्रम बालेनको विदेश भ्रमण यिनै महत्वहरूलाई केन्द्रमा राखेर हुनसके नेपालको शान्ति, प्रगति र सुरक्षाका लागि कोशेढुङ्गा सावित हुनसक्छ । गोरखा एक्सप्रेसका साथमा ।

