Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)

महेन्द्रनगर, १७ कात्तिक  :  कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । 

महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

एक वर्षभित्र निर्माण पूरा गर्नुपर्ने क्रिकेट मैदान रकम अभावकै कारण एक दशकपार गर्दा पनि बन्न नसकेको उहाँले बताउनुभयो । “निर्माण थालिए यता विभिन्न समयमा गरेर रु डेढ लाख बजेट आए पनि मैदानमा माटो भरानमै सकियो ।” अध्यक्ष चन्दले भन्नुभयो, “यो पटक भने राष्ट्रिय खेलकुद परिषद्ले रु तीन करोड बजेट विनियोजन गरेर ठेक्का आह्वानको प्रक्रियामा छ ।”

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दी पजोरा लगायतका खेलाडीहरुको गृहनगर महेन्द्रनगरमा खेल संरचना बन्ने आशामा वर्षौ कुर्नुपरेको छ ।

“तीन करोडको ठेक्का भएर काम थालेपछि अर्को वर्षदेखि नै हाम्रो खेलाडीले क्रिकेट मैदानमा खेल्न र प्रतियोगिता सञ्चालन गर्न सक्ने हुन्छ”, अध्यक्ष चन्दले भन्नुभयो, “क्रिकेट मैदानका लागि जिल्ला खेलकुद समितिको गुरुयोजनाअनुसार नै अघि बढेका छौँ ।”

उहाँले निर्माणाधीन क्रिकेट मैदानको जमिनमा माटो भरानमै रकम खर्च भएको बताउनुभयो । “बजेट आएको भए उहिल्यै मैदान बनिसक्थ्यो ।”

चन्दले भन्नुभयो, “कञ्चनपुरसँगै सुदूरपश्चिममै क्रिकेटको गतिलो पूर्वाधार नरहेको अवस्था छ ।” पछिल्लो समय क्रिकेट प्रतिको आकर्षण बढिरहेका बेला सङ्घ र प्रदेश सरकारले त्यसमा लगानी गर्नुपर्ने जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहको भनाइ छ । 

“जारी एनपीएलमा कञ्चनपुरका मात्रै १३ जना खेलाडी विभिन्न टिमबाट खेल्दै छन्”, अध्यक्ष सिंहले भन्नुभयो, “हरेक राष्ट्रिय तथा क्रिकेट संस्करणमा हाम्रा खेलाडीको उपस्थितिले कञ्चनपुर क्रिकेटको प्रतिभावान् खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ भन्ने देखाउँछ ।”

उहाँले कञ्चनपुरमा क्रिकेटलगायत खेल पूर्वाधार निर्माणमा राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश सरकारको लगानीमा बहुउद्देश्यीय कर्वडहल पनि बन्दै छ ।” सिंहले भन्नुभयो, “बृहत छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ क्रिकेट पिचबाहेक क्रिकेट खेलका अरु संरचना बन्न सकेनन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan