दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु
दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको आक्रमणमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा संलग्न भएको आरोप राष्ट्रपति साल्भा किरका लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्व प्रथम उपराष्ट्रपति रिक मचारप्रति वफादार लडाकूमाथि लगाइएको छ ।
वार्राप राज्यको टोन्ज इस्ट काउन्टीस्थित बोल बोल बोमा क्षेत्रमा शनिबार राति आक्रमण सुरु भएको काउन्टीका कार्यवाहक आयुक्त माचुई बिथले एएफपीलाई बताउनुभयो । उहाँले छिमेकी युनिटी राज्यबाट आएका तथा मचारको एसपीएलए–आइओ सशस्त्र समूहसँग सम्बन्धित लडाकूहरू आक्रमणमा संलग्न रहेको आरोप लगाउनुभयो ।
उहाँका अनुसार आक्रमणमा १५ जना सर्वसाधारण तथा पशुपालक मारिएका छन् भने एसपीएलए–आइओको पोसाकमा आएका चार जना सशस्त्र आक्रमणकारी पनि मारिएका छन् । एक स्थानीय प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा घटनाको पुष्टि गर्दै आइतबार बिहानसम्म पनि दुवै पक्षबीच झडप जारी रहेको बताउनुभयो । उहाँले हताहतीको थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिण सुडानले राजनीतिक द्वन्द्व, जातीय तनाव र स्रोतसाधनमाथिको प्रतिस्पर्धाका कारण निरन्तर हिंसात्मक घटनाको सामना गर्दै आएको छ । सन् २०१३ देखि २०१८ सम्म राष्ट्रपति किरका समर्थक र मचारप्रति वफादार सेनाबीच भएको गृहयुद्धमा चार लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
पूर्व प्रथम उपराष्ट्रपति मचार सन् २०२५ मार्चदेखि नजरबन्दमा हुनुहुन्छ । उहाँ र राष्ट्रपति किरबीचको लामो राजनीतिक प्रतिस्पर्धाले दक्षिण सुडानको राजनीतिक स्थिरतामा चुनौती थप्दै आएको छ ।
