Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | रासस

बारा, ७ मङ्सिर : दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराई–मधेसको मौलिक पर्व सामा चकेवाको रौनक अहिले तराई मधेसमा छाएको छ । 

    अहिले गाउँगाउँमा किशोरी समूह/समूह बनाएर सामा चकेवा खेल्ने गरेको पाइन्छ । गोवर्द्धन पूजाको रातिदेखि उनीहरु सामा चकेवा खेल्न थालेका हुन् ।  कार्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँमा बेग्लै रौनक बढाएको छ । यो पर्व विशेष गरी तराई–मधेसका रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासीलगायत क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारु समुदायमा मनाउने परम्परा छ ।

    स्थानीय पुरोहित धीरेन्द्र मिश्रका अनुसार द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताइ मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले भगवान् कृष्णको सम्झनामा मनाउने सामा चकेवा कालान्तरमा दाजुबहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रुपान्तरित भएको छ ।

    ‘‘यो पर्वमा पहिला दाजुलाई गीतिशैलीमा बहिनीले मार्ने र फेरि गीतिशैलीको माध्यमले नै जीवित बनाउने गर्छन्’’, उहाँले भन्नुभयो, ‘‘यस दृश्यलाई सर्वसाधारणले अभिरुचीपूर्वक अवलोकन गर्ने र गीत सुन्ने गर्छन् ।’’ 

    दुई सातासम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँघरका खासगरी कुमारी कन्या एकत्रित भई माटोले बनाइएको मूर्तिहरुको लोक गीत गाएर पूजाआजा गरिन्छ । पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिलाई परम्परागत गीत गाउँदै भत्काएर नजिकको नदी, जलाशय, पोखरी वा सरोवरमा लागेर सेलाएर  दाजुभाईलाई मिठाइ खुवाएपछि पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।

    ‘‘मूर्ति सेलाउने दिन किशोरीहरुले आ–आफ्नो अभिभावकबाट सङ्कलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गर्छौँ’’, कलैया उपमहानगरपालिका–२ औधापुरकी किशोरी सोनीकुमारी ठाकुरले भन्नुभयो, ‘‘घरमा उपलब्ध भएको चामल सङ्कलन गरी पकाउछौँ ।’’

    त्यसरी पकाएको परिकार आफूसँगै गाउँका दाजुभाईलाई बोलाएर श्रद्धापूर्वक खुवाइने उहाँले जानकारी दिनुभयो । सामा चकेवामा चकेवा (दाजु), सामा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाई) समेत गरी पाँच जनाको रङ्गीन मूर्ति कुशले बनाइएको रङ्गीन भाडोमा राखी गाउँ घुमेर अन्न र उपहार स्वरुप सङ्कलन गरिने प्रचलन छ ।

    पर्वको अन्तिम दिन भेटी स्वरुप उठेको अन्नपात र नगदबाट भोज आयोजना गरी मान्यजन र इष्टमित्रलाई  खुवाने चलन रहेको स्थानीय किशोरी खुश्बु कुमारीले बताउनुभयो । सो अवसरमा नाच–गान गरी मनोरञ्जन गर्ने चलनसमेत रहेको छ । उक्त पर्वको अवसरमा तराइका अधिकांश गाउँमा मौलिक परम्परा झल्कने विभिन्न खाले नृत्य प्रस्तुत हुने स्थानीय किशोरी सरस्वती चौधरीले बताउनुभयो । 

    ‘‘हामीले नाचको व्यवस्था मिलाएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘त्यसको लागि गाउँबाट चन्दा सङ्कलन गरेका छौँ ।’’ त्यस पर्वको सन्दर्भमा दाजु बहिनीको रक्त सम्बन्धलाई प्रगाढ तुल्याउन एउटा खराब पात्रको कल्पना गरी त्यसलाई दण्डित गर्दै चकेवा खेल्ने गरिएको पाइन्छ ।
 
    नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास तराई मधेसमै लोपन्मुख हुँदै गएको उक्त पर्वलाई जीवन्त राख्न यहाँका समुदाय सचेत र गम्भीर हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार दाजुभाइ र दिदीबहिनीबीचको प्रेम सम्बन्ध झल्काउने पर्वका रुपमा समा चकेवा रहेकाले यस पर्व मनाउँदा घर परिवारमा मात्र नभई समुदायमा माया स्नेह बढाउँछ ।’’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan