Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस/सिन्ह्वा)

अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर बढेर ४.९ प्रतिशत पुगेको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार अक्टोबरसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ४.९ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा यो दर ४.३ प्रतिशत थियो। अक्टोबरमा देखिएको यो वृद्धि सन् २०२३ को अक्टोबरयताकै उच्च हो ।
अर्थशास्त्रीहरूले अक्टोबरमा मुद्रास्फीति दर ४.७ देखि ४.८ प्रतिशतसम्म रहने अनुमान गरेका थिए । तर वास्तविक तथ्याङ्क उनीहरूको अनुमानभन्दा बढी देखिएको छ ।

अस्ट्रेलियन रिजर्भ बैंक (आरबीए) ले मुद्रास्फीतिको वास्तविक अवस्था मूल्याङ्कन गर्न प्रयोग गर्ने वार्षिक ट्रिम्ड मीन सूचक पनि सेप्टेम्बरको ३.६ प्रतिशतबाट बढेर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ ।
डिसेम्बरको सुरुवातमा हुने आरबीएको सन् २०२६ को अन्तिम मौद्रिक नीति बोर्ड बैठकअघि यो तथ्याङ्क सार्वजनिक भएको हो । उक्त बैठकमा केन्द्रीय बैंकले ब्याजदर समायोजन गर्ने विषयमा छलफल गर्नेछ ।
मुद्रास्फीतिलाई केन्द्रीय बैंकले तोकेको २ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र ल्याउने प्रयासस्वरूप आरबीएले सन् २०२६ मा पाँच पटक ०.२५ प्रतिशत बिन्दुका दरले नगद ब्याजदर बढाइसकेको छ । यससँगै ब्याजदर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत पुगेको छ ।
एबीएसकी मूल्य तथ्याङ्क प्रमुख रेचल म्याकक्रिकका अनुसार अक्टोबरसम्मको एक वर्षमा आवास क्षेत्र मुद्रास्फीति वृद्धिमा सबैभन्दा ठूलो योगदान दिने क्षेत्र बनेको छ । आवाससम्बन्धी मूल्य वार्षिक रूपमा ६.४ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा ५.२ प्रतिशत थियो ।

त्यस्तै, यातायात क्षेत्र मुद्रास्फीतिमा दोस्रो ठूलो योगदान दिने क्षेत्र बनेको छ । यस क्षेत्रमा वार्षिक रूपमा १०.६ प्रतिशत मूल्यवृद्धि भएको छ ।
म्याकक्रिकले अक्टोबरमा मासिक आधारमा सवारीसाधनमा प्रयोग हुने इन्धनको मूल्य ६.३ प्रतिशतले बढेको बताउनुभयो । सेप्टेम्बरमा यस्तो वृद्धि ९.४ प्रतिशत थियो । विश्व बजारमा तेलको मूल्य बढेका कारण इन्धन महँगिएको उहाँले बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan