Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो

न्यूजअभियान | प्रकाशित मिति : २०८० असोज ११ बिहीबार |

काठमाडौं : आर्थिक वर्ष ०७८/७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्। 


नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रिएको थियो। तर, सोही वर्ष लगानीको लाभांशमार्फत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ हाराहारीमा बाहिरिएको छ। 

आर्थिक वर्ष ०७७/७८ मा त विदेशी लगानी भित्रिएको भन्दा लाभांशबापत बाहिरिने रकम धेरै थियो। त्यो वर्ष १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको थियो। लाभांशबापत २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो। अर्थात्, बाहिरबाट आएको भन्दा ६ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बढी रकम बाहिरिएको थियो। 

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीका लागि खर्बौंको प्रतिबद्धता हुन्छ। तर, मुस्किलले अर्बमा मात्रै रकम भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। बरु, विदेशी लगानीकर्ताले बर्सेनि ठूलै रकम लाभांशबापत लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। राष्ट्र बैंंकको तथ्यांकअनुसार २७ वर्षमा ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भयो। तर, त्यसको ३६ दशमलव २ प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ मात्रै लगानी नेपाल आयो। 

अर्थविद् डा. डिल्लीराज खनाल विदेशी लगानी भित्रिनेभन्दा लाभांश फिर्ता लैजाने रकम धेरै हुन थालेकोमा चिन्ता व्यक्त गर्छन्। प्रतिबद्धता र भित्रिने रकमको ठूलो अन्तर प्रमुख समस्या रहेको उनले औंल्याए। ‘राजनीतिक स्थायित्व र स्थिर नीति नभएसम्म विदेशी लगानी (एफडीआई) आकर्षित हुन गाह्रो छ, डा. खनालले अन्नपूर्णसँग भने। यद्यपि, नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश विदेशी लगानीकर्तालाई गएको उनको भनाइ छ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागकाअनुसार ०७९ असार मसान्तसम्ममा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। जसमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड आएको थियो। त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा आएको देखिन्छ। 

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी आएको प्रतिवेदनले देखाएको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ। प्रतिवेदनअनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ। 

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित २ सय ३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।    अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan