सुनसरी घटनाले फेरि उठायो सुरक्षा संयन्त्रमाथि प्रश्न : गोली अन्तिम विकल्प कि पहिलो प्रतिक्रिया ?
काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा सुरु भएको विवाद केही घण्टामै हिंसात्मक झडपमा परिणत भयो।
घटनामा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भयो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी घाइते भए। त्यसपछि प्रशासनले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गर्यो।
यो घटनाले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ नेपालको सुरक्षा प्रणाली भीड नियन्त्रण र साम्प्रदायिक संवेदनशील अवस्थाको व्यवस्थापनमा पर्याप्त सक्षम छ कि छैन ?
सुरक्षा विज्ञहरूका अनुसार कुनै पनि लोकतान्त्रिक मुलुकमा बल प्रयोग क्रमिक रूपमा गरिनुपर्ने मान्यता छ।
संवाद, सम्झाइ–बुझाइ, सुरक्षा घेरा, भीड नियन्त्रणका कम घातक उपाय र अन्तिम अवस्थामा मात्र प्राणघातक बल प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताइन्छ।
कुनै घटनामा यी सबै चरण कति प्रभावकारी रूपमा अपनाइए भन्ने विषय प्रत्येक घटनापछि निष्पक्ष रूपमा मूल्याङ्कन हुन आवश्यक हुन्छ।
सुनसरीको घटनापछि सामाजिक सञ्जालमा पनि सुरक्षा रणनीतिबारे बहस तीव्र बनेको छ।
सामाजिक अभियन्ता भीम उपाध्यायले आफ्नो फेसबुकमार्फत नेपालमा भीड नियन्त्रणका क्रममा बारम्बार गोली चल्ने घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भारतको दिल्लीमा भएको लामो आन्दोलन तथा अमेरिकामा भएको व्यापक प्रदर्शनको उदाहरण दिँदै त्यहाँ प्राणघातक बल प्रयोग नगरी स्थिति नियन्त्रणमा राखिएको दाबी गरेका छन्। त्यसै आधारमा उनले नेपालमा किन पटक–पटक गोली चलाउनुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने प्रश्न उठाएका छन्।
उपाध्यायले प्रहरीको तालिम, दंगा नियन्त्रणका साधन–स्रोत, कार्यपद्धति तथा सुरक्षाकर्मीको मानसिक स्वास्थ्यसमेत गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका विचार व्यक्तिगत टिप्पणी हुन् र ती सम्बन्धित निकायबाट पुष्टि भएका निष्कर्ष होइनन्।
यद्यपि उनले उठाएका प्रश्नहरूले सुरक्षा नीतिमाथि बहस भने अवश्य जन्माएका छन्। नेपालमा विगतका विभिन्न प्रदर्शन तथा झडपमा पनि गोली चलाइएका घटनाहरू विवादको विषय बन्दै आएका छन्। प्रत्येक घटनापछि अत्यधिक बल प्रयोग भयो वा भएन भन्ने प्रश्न उठ्ने गरेको छ।
सुनसरीको पछिल्लो घटनाले पनि त्यही बहसलाई पुनः सतहमा ल्याएको छ। यदि स्थानीय स्तरमा बढ्दो तनावको समयमै विश्लेषण, समुदायसँग संवाद, पर्याप्त सुरक्षाकर्मी परिचालन र प्रभावकारी समन्वय हुन सकेको भए अवस्था गोली चलाउनुपर्ने तहसम्म पुग्थ्यो कि पुग्दैनथ्यो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
संयमता र सुरक्षाको चुनौती
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन महिनाको बोलबम यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा एक नागरिकले ज्यान गुमाउनुुपरेको घटना अत्यन्तै दुःखद, गम्भीर र चिन्ताजनक छ।
धार्मिक तथा सांस्कृतिक सद्भावको प्रतीक मानिने यस्ता चाडपर्व र यात्राका क्रममा सामान्य विषयमा उत्पन्न विवादले साप्रदायिक तनावको रूप लिनु र त्यसलाई नियन्त्रण गर्ने क्रममा ज्यान जाने स्थिति सिर्जना हुनुले सुरक्षा संयन्त्रको पूर्वतयारी र आपतकालीन व्यवस्थापनमा गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
सुरक्षा संयन्त्रको कमजोरी र नेतृत्वको प्रश्न
कुनै पनि संवेदनशील क्षेत्रमा चाडपर्व वा विशेष सांस्कृतिक गतिविधि सुरु हुनुपूर्व नै सम्भावित सुरक्षा जोखिमको आँकलन गरी त्यसको कूटनीतिक र व्यावहारिक व्यवस्थापन गर्नुपर्ने राज्यका सुरक्षा निकायहरूको दायित्व हो। तर, देवानगञ्जको घटनाले प्रदेश तथा स्थानीय तहको सुरक्षा कमान्ड र नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
सामान्य भनिएको विवादले ढुंगामुढा र झडपसम्मको स्थितिमा पुग्नु र स्थिति नियन्त्रण बाहिर गएर गोली चलाउनुपर्ने अवस्था आउनुले सुरक्षा नेतृत्वको कमजोरी प्रस्ट्याउँछ। नागरिकको ज्यान जोगिनु पर्ने अवस्थामा गोली चलेर ज्यान गुम्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
तत्काल सुधार र नेतृत्व परिवर्तनको आवश्यकता
घटनापछि प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेर मात्र तात्कालिक रूपमा शान्ति बहाली भएको देखाउनु पर्याप्त छैन।
यस प्रकारका घटना दोहोरिन नदिन र आम नागरिकमा सुरक्षाको प्रत्याभूति गराउन सुनसरी क्षेत्र तथा सम्बन्धित प्रदेशको सुरक्षा संयन्त्रमा तत्काल पुनर्संरचना गर्नुपर्ने देखिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा देखिएका यस्ता नेतृत्वगत कमजोरीहरूलाई समयमै सम्बोधन गर्दै कुशल, सक्षम र दृढ इच्छाशक्ति भएका नेतृत्वहरूलाई जिम्मेवारी दिनु अपरिहार्य भइसकेको छ।
शान्ति, सद्भाव र निष्पक्ष छानबिनको अपरिहार्यता
निष्पक्ष छानबिन: घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारलाई न्याय दिन र गोली प्रहारको परिस्थिति तथा सुरक्षा कमजोरीको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय तथा निष्पक्ष छानबिन समिति गठन गरिनुपर्छ।
संयमता र सद्भाव: सुनसरी विभिन्न जातजाति, भाषाभाषी र धर्मका मानिसहरू मिलेर बसेको साझा क्षेत्र हो। यस क्षेत्रको सामाजिक सद्भाव बिगार्ने किसीमका कुनै पनि गतिविधिमा संलग्न नहुन स्थानीय बासिन्दा, राजनीतिक दल र अगुवाहरूले विशेष संयमता अपनाउनु पर्छ।
घाइतेहरूको उपचार: झडपमा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था राज्यले तत्काल मिलाउनुपर्छ।
यस घटनाले प्रदेश तथा जिल्ला सुरक्षा संयन्त्रको पूर्वतयारी, कमान्ड प्रणाली, सूचना सङ्कलन, जोखिम मूल्याङ्कन र भीड नियन्त्रण क्षमताको समेत समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ। सुरक्षा निकायको सफलता केवल हिंसा नियन्त्रणमा मात्र होइन, हिंसा हुनै नदिने वातावरण निर्माणमा पनि मापन गरिन्छ।
यसै कारण सुनसरीको घटनाको निष्पक्ष छानबिन, बल प्रयोगको औचित्यको कानुनी परीक्षण, सुरक्षाकर्मीको तालिम र भीड नियन्त्रण क्षमताको मूल्याङ्कन तथा आवश्यक सुधारका विषयमा व्यापक छलफल हुनुपर्ने देखिन्छ।
लोकतन्त्रमा नागरिकलाई शान्तिपूर्ण रूपमा आफ्नो आस्था, विचार र असन्तुष्टि व्यक्त गर्ने अधिकार हुन्छ। त्यस्तै राज्यको दायित्व नागरिकको जीवन, सम्पत्ति र सार्वजनिक शान्तिको रक्षा गर्नु हो।
यी दुईबीच सन्तुलन कायम गर्न सक्ने सुरक्षा प्रणाली नै प्रभावकारी सुरक्षा प्रणाली मानिन्छ। सुनसरीको घटनाले यही सन्तुलनलाई पुनः गम्भीर बहसको केन्द्रमा ल्याइदिएको छ।
यो पनि पढ्नुहोस् ।
'सुनसरी सुरक्षा संयन्त्रको कमजोरी देखायो' : धार्मिक अभियन्ताको प्रश्न— तनाव रोक्ने कस्ले ? |
सुनसरीको कप्तानगञ्जमा दुई समुहबिच सम्प्रदायिक तनाव, प्रहरीको गोली चल्दा एकको मृत्यु |
