बाढी प्रभावित क्षेत्रमा सेनाको खोजी तीव्र, ९ हजारभन्दा बढी सैनिक परिचालन
टनेलदेखि सडकसम्म खोज तथा उद्धार जारी, आज थप ४० जनाको हवाई उद्धार
काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार आज बेलुकासम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ४० जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार गरिनेको संख्या ४ हजार २० पुगेको छ।
उद्धार गरिएका ४ हजार २० जनामध्ये ३ हजार ७ सय ३७ जना नेपाली र २ सय ८३ जना विदेशी रहेको नेपाली सेनाले जनाएको छ।
जलविद्युत आयोजनाका टनेलमा खोजी
बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी छ।
रसुवागढी जलविद्युत आयोजनामा Composite Quick Reaction Team तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ।
त्यस्तै, लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
चिलिमे हाइड्रोपावरमा विदेशी विज्ञसहितको संयुक्त टोलीले Sling Operation मार्फत स्याफ्रुबेंसी पुर्याइएको Mini Excavator तथा अन्य उपकरण Assemble गरी खोज तथा उद्धारमा प्रयोग गरिरहेको छ। टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार पारेको छ।
माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य प्रवेश सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली करिब ४ सय मिटरभित्र प्रवेश गरी खोजतलास गरेको भए पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ एको पावरहाउस तथा सुरुङमा नेपाली सेनाका ५८ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–३ बीमा नेपाली सेनाका १ सय जना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले तीनवटा Bobcat प्रयोग गरी आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा करिब १० फिट गहिराइसम्म खनेर खोजी गरेको छ। हालसम्म कुनै भौतिक संरचना फेला नपरेको र थप चारवटा Excavator प्रयोग गरी खोजी जारी राखिएको सेनाले जनाएको छ।
पुल र तुइन निर्माणले आवागमन सहज
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ।
यसैगरी, इन्द्रेणी चौर–गुम्बा डाँडा जोड्ने तथा नुवाकोटको देविघाट क्षेत्रमा गरी दुईवटा तुइन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।
मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल खोजी
सेनाले प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत समेत खोज तथा उद्धार कार्य गरिरहेको जनाएको छ।
त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार ४ सय ४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
सेनाका अनुसार परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै सुरुङ, पावरहाउस, नदी किनार, सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा खोजी अभियान जारी राखिएको नेपाली सेनाले जनाएको छ।


