Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब एउटै महाधिवेशन गर्नुपर्छ : नेता विश्वकर्मा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार |
newsabhiyan

तपाईंले हालै सामाजिक सञ्जालमा 'विचार मिल्नेसँग कुरा मिल्यो, कुरा मिल्नेसँग मन पनि मिल्यो, संवाद सम्पन्न, यात्रा प्रारम्भ' भनेर लेख्नुभयो । यो परिस्थिति कसरी जन्मियो ? 
नेपाली कांग्रेसको पार्टीको अन्तरविवाद चाहिँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर २०८२ माघको पहिलो हप्ताबाट उत्पन्न भयो। त्यो विवादमा केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी मुद्दा अदालतसम्म पुग्यो ।

हाम्रा बीचमा समझदारी गर्ने अनेक प्रयासहरू भए, समझदारी हुन सकेन । अन्ततः एउटा कार्यालय सानेपामा रह्यो, अर्को कार्यालय चुनदेवीमा रह्यो । दुवैले आफ्नो कार्यतालिका सार्वजनिक गरे। हामीले कार्यतालिका स्थगन गरी संवाद सुरु गयौं र यो विषम परिस्थितिमा नेपाली कांग्रेस एक हुनुपर्छ भन्ने प्रयत्न गयौ ।

अदालतबाट अन्तरिम आदेश जारी नभइसकेपछि दुवैतर्फबाट महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न अगाडि बढ्यो।

अहिले पार्टी एकताका लागि सभापति गगन थापासँग हाम्रो ठूलो समूहले पार्टी एकताको लागि प्रयास गर्दा उहाँले 'जे कुरा पार्टी एकताका लागि सम्भव हुन्छ, अहिलेसम्मको छलफलमा निस्किएका निष्कर्षलाई म मान्न तयार छु, स्वीकार गर्छु, केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय पनि गराउँछु' भन्नुभयो र त्यो पालना पनि भयो ।

यति भनिसकेपछि त पार्टीले अब एउटै महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा हामी निष्कर्षमा पुग्यौं ।

देउवा पक्षले गरेको भेलामा उठेका कतिपय प्रस्तावहरूमा तपाईंहरूको विमति थियो भन्ने संकेत गर्नुभयो, खासमा कुन चाहिँ प्रस्तावमा विमति हो ? 
२०८२ भदौ २४ गते देउवामाथि भएको निर्मम र हिंसात्मक आक्रमणको सबैले भर्त्सना गयौं। उहाँ उपचार सकेर नेपाल फर्किएपछि हामीले भव्य स्वागत गरेर निवासमा राख्ने, उहाँले सबै पक्षका नेताहरूसँग भेटेर पार्टीलाई एक बनाउने र अभिभावकीय भूमिका खेल्ने परिकल्पना गरेका थियौं तर उहाँलाई एयरपोर्टबाट चुनदेवी सम्पर्क कार्यालय लगियो र त्यहाँ पुगेर हस्ताक्षर गर्ने तथा बाहिर आएर अप्रासंगिक अभिव्यक्ति दिने काम भयो, त्यसपछि राष्ट्रिय भेलामा साझा दस्तावेज वाहेकका अन्य दस्तावेजहरू वाचन गर्दा साथीहरूको मनमा चिसो पस्यो, विशेषगरी त्यहाँ उठाइएको धर्मको विषयले धेरैको मन कुँडियो ।

तर बाहिरबाट हेर्दा त तपाईंहरूले शेरबहादुर देउवालाई देख्दादेख्दै धोका त दिनुभयो नि, होइन र ? 
होइन, शेरबहादुर देउवालाई हामीले कुनै एक मिनेट पनि धोका दिएका छैनौं । उहाँले 'म सभापति लड्दिन, को आउने हो आउनुहोस्, म १५ औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न चाहन्छु' भन्नुभएको छ। १५ औं महाधिवेशनमा उहाँको ससम्मान गरिमामय, महत्वपूर्ण र ऐतिहासिक उपस्थितिबाट उहाँले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।

हामी कुनै नेता विशेषको पक्षमा लागेका होइनौं । पार्टीको आधिकारिक कार्यालय, चुनाव चिह्न र झण्डा एउटै भएकाले दुईवटा महाधिवेशनले कांग्रेस विभाजन हुने अवस्था आउँछ, त्यसैले एउटै महाधिवेशन गरौं भनेर सहभागी भएका हौं।

हामी व्यक्ति विशेषलाई छोडेर अर्को व्यक्ति विशेषसँग जोडिन गएका कदापि होइनौं । सभापति शेरबहादुर देउवा अब फेरि सभापतिको उम्मेदवार बन्दै पनि हुनुहुन्न र उहाँलाई छोडिहालेको पनि होइन बरु उहाँलाई पनि जोड्नका लागि पहल गरिरहेका छौं ।

तपाईंहरूलाई शेरबहादुर देउवासँग अझै पनि सहमति हुन सक्छ र गगन थापा नेतृत्वको कार्यसमितिले उहाँले उठाएका मागहरू सम्बोधन गर्न सक्छ भन्ने लागेको हो ?

एकदम, मलाई चाहिँ पूरा विश्वास छ, सभापति शेरबहादुर देउवा उपचारका क्रममा सिंगापुर र हङकङमा रहँदा यहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्नुभएको थियो।

त्यसमा वरिष्ठ नेता शेखर कोइरालाले पार्टीभित्रको मतमतान्तर अन्त्य गर्ने र एउटै कार्यसमिति कायम गर्नका लागि अहोरात्र लाग्नुभएको थियो । त्यो प्रक्रियामा पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापा र केही अरू शीर्ष नेताहरू पटक-पटक बस्दा निस्किएका निष्कर्षहरू आठ बुँदामा छन् ।

जसमा एउटा १५ औं महाधिवेशनका लागि भनी गरिएका क्रियाशील सदस्यताको नवीकरणलाई नै मान्ने, विशेषबाट आएपछिको अद्यावधिक नमान्ने भन्ने थियो। त्यो गगनजीले मानिरहनुभएको थिएन, अहिले मान्नुभयो ।

१४ औं महाधिवेशनवाट आएको पुरानो कार्यसमितिलाई पनि मिसाउने भनिएको थियो, उहाँले विधानले मिल्दैन भन्नुभएको थियो, अहिले त्यो मिल्यो अब १५ औ महाधिवेशनलाई साझा बनाउनका लागि अधिवेशनसम्बन्धी आवश्यक समितिहरू र भ्रातृ संस्थाहरू पनि सहमतिले बनाउने भनेका छौं। त्यसैले व्यक्तिगत इगो वा आग्रह पूर्वाग्रह वाहेक पार्टी मिल्नुको अरू कुनै कारण छैन ।

अब सभापति गगन थापाले आह्वान गर्नुभएका महाधिवेशनका सबै चरणहरूमा हामी सहभागी हुने प्रतिबद्धतासहित अब सभापति शेरबहादुर देउवालाई त्यो कार्यक्रममा उच्च सम्मानका साथ सहभागी गराउन हामी प्रयत्नशील छौं । राष्ट्रवाणीका साथमा । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan