अक्टोबर ७ को तेस्रो वार्षिकोत्सव
जेरुसेलम, २१ असोज : हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणको तेस्रो वार्षिकोत्सवमा देशभर स्मारक कार्यक्रम आयोजना भइरहेका छन् ।
आगामी आम चुनावको केही साताअघि मनाउन लागिएको यस वर्षको वार्षिकोत्सव गाजामा युद्धविराम सुरु भएपछिको पहिलो औपचारिक स्मरण कार्यक्रमसमेत हो ।
आक्रमणमा मारिएका व्यक्तिको सम्झनामा दिनभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । एएफपीले आधिकारिक इजरायली तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार प्यालेस्टिनी लडाकूको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । आक्रमणकारीले २५१ जनालाई बन्धक बनाएर गाजा लगेका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।
आक्रमण सुरु भएको ठीक समय बिहान ६ः२९ बजे गाजा सीमासँग जोडिएको किबुट्ज कफर आजामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।
त्यहाँ ६४ जना बासिन्दाको हत्या र १८ जनालाई अपहरण गरिएको थियो । दक्षिणी इजरायलस्थित नोभा सङ्गीत महोत्सवस्थलमा पनि स्मरण कार्यक्रम आयोजना गरिएको छ ।
त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए र दर्जनौँलाई बन्धक बनाइएको थियो । शोकाकुल परिवारहरूले तेल अभिभको एक पार्कमा समेत स्मरण कार्यक्रम आयोजना गरेका छन् ।
आम चुनावको तीन साताअघि र तेल अभिभतर्फ जाने यात्रुवाहक विमानमाथि असफल आक्रमण भएको एक सातापछि कार्यक्रमहरू कडा सुरक्षा व्यवस्थाबीच भइरहेका छन् ।
इजरायलका रक्षामन्त्रीले वार्षिकोत्सवका अवसरमा गाजामा रहेका इजरायली सैनिकमाथि हमासले आक्रमण गर्न सक्ने सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको बताउनुभएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार आयोजित राज्य स्मारक समारोहमा गाजामा हमासको शासन कायम नरहने र अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउनेहरूलाई लक्षित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
हमासको आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस क्रममा ७४ हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् । हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मान्दै आएको छ ।
पछिल्ला तीन वर्षमा इजरायलको सैन्य कारबाही गाजामा मात्र सीमित रहेन । लेबनानस्थित हिजबुल्लाहसँगको द्वन्द्वदेखि इरानसम्म विभिन्न मोर्चामा इजरायलको सैन्य संलग्नता विस्तार भएको छ ।
अमेरिकाको पहलमा गत अक्टोबरमा युद्धविराम घोषणा भए पनि गाजाको मानवीय अवस्था अझै गम्भीर रहेको समाचारमा जनाइएको छ । लाखौँ मानिस पाल तथा अस्थायी संरचनामा बस्न बाध्य छन् भने युद्धग्रस्त क्षेत्रको राजनीतिक भविष्य र पुनर्निर्माणसम्बन्धी कामसमेत प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।
इजरायलले गाजा पट्टीको ६० प्रतिशतभन्दा बढी भूभाग आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । हमासबाट उत्पन्न खतरा हटाउने र अक्टोबर ७ को आक्रमणमा संलग्नलाई लक्षित गर्ने भन्दै इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको बताएको छ । युद्धविरामपछि पनि इजरायली सेनाको कारबाहीमा एक हजार ४३० भन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
