कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
वालिङ (स्याङ्जा), ९ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताउनुभयो । “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उहाँले भन्नुभयो, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।”
सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिनुभयो । विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
१५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उहाँले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गर्नुभयो । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

