Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस/एएफपी)

जापानका पूर्व वरिष्ठ अभियोजक केन्टारो किटागावाविरुद्धको बलात्कार मुद्दा दुई वर्षको अन्तरालपछि मङ्गलबार पुनः सुरु भएको छ । ‘हिकारी’ छद्म नाम प्रयोग गर्ने एक महिला पूर्वसहकर्मीले सन् २०१८ मा आफू बलात्कृत भएको आरोप लगाउनुभएको थियो । किटागावाले भने यौन सम्बन्ध सहमतिमा भएको दाबी गर्दै आउनुभएको छ ।

    मुद्दा सन् २०२४ अक्टोबरमा सुरु भए पनि किटागावाले सुरुमा गरेको अपराध स्वीकारको बयान फिर्ता लिएपछि कार्यवाही लम्बिएको थियो । जापानी प्रसारक एनएचकेका अनुसार मङ्गलबार उहाँले यौन सम्बन्ध भएको स्वीकार गर्दै आफू दोषी नभएको र महिला प्रतिरोध गर्न असमर्थ हुनुहुन्थ्यो भन्ने आरोप अस्वीकार गर्नुभयो । कथित घटनाका बेला उहाँ ओसाका जिल्ला सार्वजनिक अभियोजन कार्यालयको प्रमुख हुनुहुन्थ्यो ।

    पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भएको पत्ता लागेकी हिकारीले सन् २०१८ मा कार्यालयको जमघटका क्रममा स्मरणशक्ति गुमाएपछि किटागावाको घरमा आफू बलात्कृत भइरहेको अवस्थामा पुगेको बताउनुभएको थियो । “मलाई मारिने डर भएकाले प्रतिरोध गर्न सकिनँ”, उहाँले सन् २०२५ मा एएफपीसँग भन्नुभएको थियो ।

    हिकारीका अनुसार किटागावाले घटनाबारे सार्वजनिक गर्दा अभियोजन कार्यालयको प्रतिष्ठामा क्षति पुग्ने र आफूलाई हानि हुने भन्दै मौन रहन दबाब दिनुभएको थियो । सन् २०२४ मा आफूविरुद्ध दुर्भावनापूर्ण हल्ला फैलाइएको थाहा पाएपछि आफ्नो अवस्था झन् बिग्रिएको उहाँले बताउनुभएको छ ।

    हिकारीले अभियोजन कार्यालयभित्रको उत्पीडनबारे स्वतन्त्र अनुसन्धान गर्न पटकपटक माग गर्नुभएको थियो । अधिकारीहरूले उक्त माग अस्वीकार गर्दै जुनमा आन्तरिक अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए । कार्यस्थल सुरक्षित बनाउन आवश्यक उपाय अपनाउन गरिएको मागसमेत अस्वीकार भएपछि उहाँले अगस्टमा पदबाट राजीनामा दिनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan