Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

राँझा (बाँके), ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगन्ज उपमहानगरपालिका–१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताउनुभयो । 

“विगतमा पनि असोज र कात्तिकमा आएको बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति व्यहोर्नुपरेकाले अहिले सजक भएर बेलैमा धान भित्र्याउन लागिपरेका छौँ”, उहाँले भन्नु्भयो, “पानी पर्ने सूचनाले अहिले बिहानदेखि रातिसम्म खेतमै धानबाली स्याहर्न हामीलाई भ्याइनभ्याई छ ।”

दसैँका बेला भएकाले खेतमा काम गर्ने खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टरजस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतारहतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उहाँको भनाइ छ । 

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताउनुभयो । 

विगतका वर्षहरूमा प्रायः दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा दसैँ नसकिँदै खेतबारीको कामको हतारो भएको केसीले बताउनुभयो ।

“आकासमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धडकन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पुर्याउन सक्छ”, केसीले भन्नुभयो, “बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।”

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताउनुभयो । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan