Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | (रासस/एपी)

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उहाँको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ ।

    बोल्सोनारो कहाँ हुनुहुन्छ भन्ने स्पष्ट छैन । राष्ट्रपति लुलाले उहाँले देश छाडेको जानकारी पाए पनि गन्तव्य थाहा नभएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताउनुभएको छ ।

    बोल्सोनारोले चुनावी हार स्वीकार गर्नुभएको छैन । उहाँले धाँधलीको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गर्नुभएको छ । लुलाले छ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा बोल्सोनारोले छ करोडभन्दा कम मत पाउनुभएको थियो । परिणाम उल्ट्याउन ४४ लाख मतको अन्तरलाई प्रभावित पार्ने धाँधलीको प्रमाण पेस गर्नुपर्नेछ ।

    बोल्सोनारोका भाइ एडुआर्डो टेक्सासमा बस्दै आउनुभएको छ । उहाँलाई ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानूनी पैरवी गरेको अभियोगमा अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ । बोल्सोनारोले भने राहदानी बुझाएर आफूविरुद्धका कदमको सामना गर्ने बताउनुभएको थियो ।

    बोल्सोनारोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को चुनावमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ । फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती र विवादास्पद बैंकरबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ । उहाँले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ ।

    बोल्सोनारोको सिनेटरका रूपमा कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ । त्यसपछि उहाँले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan