सभ्यतागत संवाद मञ्चमा एससीओका सबै सदस्यलाई भारतको निमन्त्रणा
भारतले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने पहिलो सभ्यतागत संवाद मञ्चमा सहभागी हुन पाकिस्तानसहित साङ्घाई सहयोग सङ्गठन (एससीओ) का सबै १० सदस्य राष्ट्रलाई निमन्त्रणा दिएको छ । मञ्चको उद्देश्य सांस्कृतिक सम्बन्ध र आपसी समझदारी सुदृढ गर्नु हो ।
रक्षामन्त्री राजनाथ सिंहले अक्टोबर २० मा ताजिकिस्तानको दुशान्बेमा एससीओका सरकार प्रमुखहरूको परिषद्को बैठकलाई सम्बोधन गर्दै मञ्च आयोजना गर्ने घोषणा गर्नुभएको थियो । उहाँले ताजिकिस्तानसँगको ऐतिहासिक मित्रता र मध्य एसियाली देशहरूसँगको सम्बन्धको महत्त्व उल्लेख गर्दै सबै सदस्य राष्ट्रलाई सहभागी हुन आह्वान गर्नुभएको थियो ।
सिंहले एससीओको २५ वर्षे यात्राको समीक्षा गर्दै सदस्य राष्ट्रबीच सुरक्षा, सम्पर्क सञ्जाल र अवसर विस्तारका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सुरक्षा र सहकार्य सुदृढ गर्ने आह्वान पनि स्मरण गर्नुभयो ।
रक्षामन्त्री सिंहले आतङ्कवादलाई शान्ति र विकासको गम्भीर खतरा बताउँदै त्यसविरुद्ध सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । आतङ्कवादले जनधनको क्षति गर्नुका साथै लगानी र व्यापारमा अवरोध पु¥याउने तथा युवालाई अवसरबाट वञ्चित गर्ने उहाँको भनाइ थियो । आतङ्ककारीलाई आर्थिक सहयोग, समर्थन वा आश्रय दिने संरचनाविरुद्ध दोहोरो मापदण्ड नराखी संयुक्त रूपमा अघि बढ्न उहाँले सदस्य राष्ट्रलाई आग्रह गर्नुभयो ।
बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार पनि सहभागी हुनुहुन्थ्यो । पाकिस्तानले सन् २०२६ सेप्टेम्बर १ मा सन् २०२६–२०२७ का लागि एससीओ राष्ट्रप्रमुख परिषद्को घुम्ती अध्यक्षता ग्रहण गरेको थियो ।
एससीओमा बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । भारत सन् २०१७ मा सङ्गठनको पूर्ण सदस्य बनेको थियो । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र तथा अन्य १५ राष्ट्र संवाद साझेदारका रूपमा आबद्ध छन् ।

