मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह
धनुषा, १३ कात्तिकः मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये धनुषामा एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ ।
त्यस्तै, सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा मधेस प्रदेशको प्रतिव्यक्ति जिडिपी अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ ।
कृषि उत्पादनतर्फ मधेस प्रदेशमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीले ओगटेको क्षेत्रफल ४.४६ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल भने ४.४७ प्रतिशत र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
उत्पादनतर्फ तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ ।
पशुजन्य उत्पादनतर्फ मासु र अन्डा उत्पादनमा क्रमशः १०.१९ र ३.११ प्रतिशत वृद्धि भएको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
कृषि, माछापालन तथा वन क्षेत्रमा पनि उल्लेख्य कर्जा प्रवाह भएको छ । २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा रु ५९ अर्ब ८६ करोड ९० लाख कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाह भएको कूल कर्जाको १२.१० प्रतिशत हो ।
औद्योगिक क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २८ अर्ब ९७ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा रु एक खर्ब २८ अर्ब नौ करोड रहेको थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गा कारोबारतर्फ मधेस प्रदेशमा गत आर्थिक वर्ष एक लाख १६ हजार २०७ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन् । यसबाट रु तीन अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ ।
बैंकिङ क्षेत्रको वित्तीय अवस्थातर्फ २०८३ असार मसान्तसम्म मधेस प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर रु चार खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ ।
पूर्वाधार विकासतर्फ निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम यस प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, वैदेशिक रोजगारीका लागि मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशका एक लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो ।
राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको उच्च योगदान, बैंकिङ कर्जा तथा निक्षेपको अवस्था, औद्योगिक गतिविधि, घरजग्गा कारोबार र वैदेशिक रोजगारीको प्रवृत्तिलाई उजागर गरेको छ ।

