रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन
कर्णाली, १३ कात्तिकः कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले प्रदेशका आठ जिल्लामा रहेका १९ वटा रुग्ण आयोजना शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित रुग्ण आयोजना समीक्षा तथा समस्या समाधानसम्बन्धी छलफलमा उहाँले आयोजनाका समस्या पहिचान गरी समाधान गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो । निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहे पनि सम्झौताअनुसार काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
आयोजनाअनुसार समस्या, समाधानको उपाय र सम्पन्न गर्ने समयसीमासहित स्पष्ट कार्ययोजना बनाउन मन्त्री रोकाले सचिव तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रदेश सचिव अर्जुनकुमार बमले पटकपटक म्याद थप्दा पनि प्रगति नभएका आयोजनालाई कानुनबमोजिम अघि बढाइने बताउनुभयो । काम नगर्ने निर्माण व्यवसायी र जिम्मेवारी पूरा नगर्ने कार्यालय प्रमुखलाई छुट नदिइने उहाँको भनाइ थियो ।
मन्त्रालयका अनुसार १९ आयोजनामध्ये केहीको प्रगति शून्य छ भने केहीको न्यून मात्रामा भएको छ ।

