Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी आक्रमणका कारण मध्य युक्रेनमा दुई लाखभन्दा बढी मानिस विद्युतविहीनः अधिकारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | (रासस/एएफपी)

रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा दुई लाखभन्दा बढी मानिस अझै बिजुलीविहीन अवस्थामा रहेका अधिकारीहरूले शुक्रबार बताएका छन् । 

यो क्षेत्रको एउटा रेलवे स्टेशनमा घातक रुसी ड्रोन आक्रमण भएको भोलिपल्ट यस्तो अवस्था आएको हो । 

यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा प्रणालीले रातभर रुसी क्षेत्रहरूमा एक हजारभन्दा बढी युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ । 

युक्रेनको वायु सेनाका अनुसार रुसले रातभर ब्यालेस्टिक मिसाइल र ड्रोन प्रयोग गरी डिप्रोपेट्रोभ्स्कसहित धेरै क्षेत्रमा आक्रमण गरेको थियो । यसले डिप्रो सहरमा व्यापक विद्युत् अवरोध निम्त्याएको छ । विद्युत् कम्पनी डीटीईकेले ग्रिड सञ्चालक उक्रेनेर्गोले सहरभर, छिमेकी जिल्लाहरू र पावलोग्राड जिल्लाका केही भागमा आपतकालीन बिजुली कटौतीको आदेश दिएको बताएको छ । 

“शत्रुको आक्रमणका कारण क्षेत्रको विद्युत् उपकरणमा गम्भीर क्षति पुगेको कारण अझै ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध भइरहेको छ,” कम्पनीले भनेको छ ।

ऊर्जाकर्मीहरू रातभर काम गरेर अझै ‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा विद्युत् सेवा पुनस्र्थापना’ गर्न व्यस्त रहेको पनि कम्पनीले जनाएको छ । 
डिप्रोपेट्रोभ्स्क क्षेत्रका गभर्नर ओलेक्सान्द्र गान्जाले टेलिग्राममा भन्नुभएको छ, “क्षेत्रका विद्युत् इन्जिनियरहरूले ‘रुसी आक्रमणका कारण विद्युत् काटिएका अधिकांश उपभोक्तालाई आपूर्ति पुनस्र्थापना गरिसकेका छन्।” 

उहाँले ‘दुई लाखभन्दा बढी ग्राहक अझै बिजुलीविहीन अवस्थामा रहेको’ बताउनुभयो । 

डिप्रोका मेयर बोरिस फिलातोभले पनि मानिसहरूलाई ‘कम्तीमा एक–दुई दिनको पानीको भण्डार घरमा राख्न’ आग्रह गर्नुभएको छ । रुसले युद्धभर युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ । युक्रेनले आक्रमणलाई युद्ध अपराध बताएको छ । 

युक्रेनमा सरकारविरोधी जनमत सिर्जना गराउन रूसले प्रायः जाडो अघि विद्युत् पूर्वाधारमा आक्रमण गर्ने गरेको छ । 

आक्रमणले लाखौँ मानिसलाई चिसो तापक्रममा ताप र बिजुलीबाट वञ्चित गर्छ । बिहीबार एउटा व्यस्त रेलवे प्लेटफर्ममा रुसी ड्रोन खसेको डिप्रोमा विद्युत् आपूर्तिमा अवरोध आएको हो । बिहिबारको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी घाइते भएका थिए । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘भयानक’ आक्रमण भन्नुभएको थियो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan