मकवानपुरमा डिजेल ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । मकवानपुरमा डिजेल लोड गरिएको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हिजो साँझ बकैया गाउँपालिका–५ स्थित तीनतल्ले फास्ट्याक नजिक मदन भण्डारी लोकमार्गमा ट्याङ्कर दुर्घटना भएको हो।
हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर सडकको बायाँतर्फ पल्टिँदा चालक ट्याङ्करभित्रै च्यापिएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गरगरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट थप प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार राति १० बजे ट्याङ्करमा च्यापिएका चालकलाई मृत अवस्थामा फेला पारिएको हो। मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी करिब ४० वर्षीय रमेशकुमार रायमाझी रहेका छन्।
मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

