फेटामा अस्पताल उद्घाटन बिबाद्ले प्रहरीको गोलि लागि १ घाइते आक्रोशितद्धारा मोटरसाइकलमा आगजनी तथा अस्पतालको सिसा तोडफोड
बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्। झडपका क्रममा प्रदर्शनकारीले नौवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पताल भवनमा तोडफोडसमेत गरेका छन्। घटनापछि फेटा क्षेत्र तनावग्रस्त बनेका छन ।
फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो। तर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, विद्युत्, स्वास्थ्य उपकरण तथा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था पूरा नभएको भन्दै स्थानीयवासीले उद्घाटनप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले अस्पताल पूर्ण रूपमा तयार गरी नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न सक्ने अवस्था बनाएपछि मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका थिए।
स्थानीयको मागलाई सम्बोधन नगरी गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बल जबर्जस्ती उद्घाटन कार्यक्रम अघि बढाउन खोजेको प्रदर्शनकारीहरूको आरोप छ। अस्पताल सञ्चालनका लागि आवश्यक तयारीबिनै उद्घाटन गर्न खोजिएको भन्दै सुरु भएको विरोध प्रदर्शन क्रमशः चर्किँदै गएपछि गाउँपालिकाको कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको बताइएको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय प्रसौनिका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्न साथ प्रहरिले प्रदर्शनकारी माथी लाठी चार्ज गरेको बताइएको छ ।
त्यही झडपका क्रममा प्रहरी द्धारा गोली चल्दा फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १४ वर्षीय छोरा आदित पासवान घाइते भएका छन्। उनलाई पेटमा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरूले नौवटा मोटरसाइकलमा आगजनी गरी क्षति पुर्याएका छन् भने अस्पताल भवनमा समेत तोडफोड भएको बताइएको छ। आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। घटनामा गोली कसले चलाएको हो र कुन परिस्थितिमा गोली चल्यो भन्ने विषय पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।
अस्पताल निर्माणपछि सेवा सञ्चालनको तयारी र उद्घाटनको विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थानीय प्रशासनमाथि समेत चुनौती थपिएको छ। जनताको आधारभूत स्वास्थ्य सेवासँग जोडिएको अस्पतालमा पूर्वाधार र जनशक्तिको अवस्थाबारे स्थानीयले उठाएका प्रश्नको जवाफ गाउँपालिकाले दिनुपर्ने मागसमेत उठेको छ।
घटनापछि फेटा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ। घाइते युवकको स्वास्थ्य अवस्था, प्रहरीको गोली प्रहारको कारण तथा घटनामा भएको भौतिक क्षतिबारे जिल्ला प्रशासन र प्रहरीबाट विस्तृत आधिकारिक विवरण आउन बाँकी नै छ ।

