Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सुक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन हुने भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको अद्यावधिक तथ्याङ्क उपलब्ध गराउनेछ । सन् २०१६ मा सम्पन्न राष्ट्रिय सुक्ष्म पोषक तत्व अवस्था सर्वेक्षणको करिब एक दशकपछि हुन लागेको यस अध्ययनले विगतका उपलब्धि, विद्यमान पोषण समस्या र आगामी प्राथमिकता पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    परिवार कल्याण महाशाखाका पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले सर्वेक्षणमार्फत भिटामिन ‘ए’, भिटामिन ‘बी १२’, आइरन, आयोडिन, जिङ्क, फोलेटलगायत शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्वको अवस्था परीक्षण गरिने जानकारी गराउनुभयो । उहाँले नयाँ सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले ती कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न तथा आगामी दिनमा पोषणसम्बन्धी नीति, योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

    शाखाका प्रमुख थापाका अनुसार सर्वेक्षणमा रक्तअल्पता र सङ्क्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा पोषण अवस्था र प्रमुख पोषण कार्यक्रमको पहुँच एवं सेवाग्राहीको पालना अवस्थासमेत अध्ययन गरिनेछ । सर्वेक्षण सन् २०२६ अप्रिलदेखि सन् २०२७ मार्चसम्म देशभरका सातै प्रदेश र हिमाल, पहाड तथा तराई गरी तीन वटै भौगोलिक क्षेत्रमा सञ्चालन हुनेछ । यसका लागि २८० वटा क्लस्टर छनोट गरी आठ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ व्यक्तिलाई समेटिने उहाँले जानकारी दिनुभयो । 

    सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी तथा छ देखि नौ वर्ष र छ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ । गर्भवती महिलालाई समेत सर्वेक्षणमा समावेश गरिनेछ ।

    सर्वेक्षणका लागि गुणस्तर नियन्त्रक, तथ्याङ्क सङ्कलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमूना सङ्कलक, प्रयोगशाला प्राविधिक तथा नमूना ढुवानीमा संलग्न गरी २०५ जना जनशक्ति परिचालन गरिनेछ । उनीहरूका लागि नोभेम्बर १७ देखि २८ सम्म तालिम सञ्चालन गरिनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan