Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/सिन्ह्वा)

अमेरिकाले इरानका ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ ।

    तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने कुनै पनि अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुने बताउनुभयो । इरानले आफ्नो सद्भावनाको सङ्केत स्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि उनले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “इरानका माग पूरा भएमा स्ट्रेट अफ होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ ।” यसबारे अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    बाघाईका अनुसार इरानले आफ्ना मागहरू स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरेको छ । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका वैध माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उहाँले बताउनुभयो । त्यसो नभएसम्म होर्मुज पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उहाँको भनाइ थियो ।

    इरानले युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सर्त समेटिएको सातदिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो । त्यसयता तेहरान र वासिङ्टनबीच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।

    यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । साथै, उसले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan