तारागाउँ नेक्स्टको एम्पिथियटरमा फिल्म फेस्टिभल’ समापन
काठमाडौँ, १६ कात्तिकः काठमाडौँ महानगरपालिकाले १३ गते विश्वसम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रा गर्दै सुरु गरेको ‘काठमाडौँ चलचित्र महोत्सव (फिल्म फेस्टिभल) बौद्ध र तारागाउँ नेक्स्टको एम्पिथियटरमा पुगेर आज समापन भएको छ ।
कामपाले यही कात्तिक १३ गतेदेखि सुरु गरेको फेस्टिभल नेपाली पुराना चलचित्र ‘के घर के डेरा’ र ‘कुमारी’ सहित छोटा श्रव्यदृश्य (सर्ट भिडियो), नेपाली पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० चलचित्र देखाइएको थियो ।
समापन कार्यक्रम बौद्ध स्तुपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो । स्तुपामा पुगेका कलाकार तथा विशिष्ट व्यक्तिहरूलाई कामपा-६ ले मौलिक गायन र वादन तथा खादाबाट स्वागत गरेको थियो । त्यसपछि बौद्धबाट तारागाउँसम्म पैदलयात्रा गरिएको थियो ।
यात्रापछि तारागाउँको एमपीथियटरमा आयोजना गरिएको समापन समारोहमा कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँले रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदाका बखत चार वर्षभित्रमा एउटा फिल्म फेस्टिभल गर्ने प्रतिबद्धता पूरा गरेको बताउनुभयो ।
“यो सुरुवात हो । यो कार्यक्रम नेपाली चलचित्र उद्योगप्रति समर्पित कार्यक्रम हो । पहिलो कार्यक्रमबाट प्राप्त गरेको सिकाइ, सुधारका लागि प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित गर्दै लैजानेछौँ”, उहाँले भन्नुभयो ।
वरिष्ठ कलाकार नीर शाहले, उच्चस्तरको महोत्सव थालनी भएको बताउँदै यसको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । “कामपाले ढिलै भए पनि सकारात्मक कामको सुरुआत गरेको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
समाजका कथा, अवस्थिति र परिस्थिति आम दर्शकलाई सुनाउन चलचित्र सशक्त र प्रभावककारी माध्यमका रूपमा रहेको महानायक राजेश हमालले बताउनुभयो । “यसको विकासका लागि कामपाले थालेको कामले कला, साहित्य र सिर्जनालाई बचाउन योगदान दिने निश्चित छ”, उहाँले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरमा विकास भएका प्रविधि र प्राविधिक ज्ञान प्राप्त गर्न र नेपालका अद्वितीय सम्पदाको विस्तार गर्न कामपा सफल भए यसको लाभ स्वभाविक रूपमा नेपाली चलचित्र उद्योगमा पर्नेछ ।”
चलचित्र उद्योगलाई आकार दिन दक्षिण एसियाली मुलुकहरूमा नेपाल प्रचुर सम्भावना भएको ठाउँका रूपमा रहेको साङ्घाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलरले बताउनुभयो । “यसलाई पहिचान गरौँ । आफैँभित्रको सम्भावना खोजौँ । काठमाडौँले थालेको कामबाट नेपाली चलचित्र उद्योगलाई मात्र होइन, अन्तरराष्ट्रिय उद्योगलाई लाभ पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

