Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस)

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गर्नुभएको छ ।

    सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको आपसीहित, संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

    भेटमा अध्यक्ष दाहालले नेपाल–स्वीस संसदीयमैत्री समूह गठन भएको जानकारी गराउँदै सो समूहमार्फत दुवै देशबीच संसदीय अभ्यास, अनुभव आदानप्रदानका साथै सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्वीस संसदीय नेतृत्वको यस भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    नेपालको संसदीय अभ्यासलाई थप सुदृढ बनाउन स्वीट्जरल्याण्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास, प्राविधिक सहयोग र उत्कृष्ट अभ्यासबाट सिक्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

    रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्वीट्जरल्याण्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि स्वीट्जरल्याण्डसँग सहकार्यको अपेक्षा गर्नुभयो ।

    जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई दुई देशको साझा सरोकारका रूपमा प्रस्तुत गर्दै अध्यक्ष दाहालले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि यसको असरबाट बढी प्रभावित हुनुपरेको बताउनुभयो । 
    
    प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्ड सफल उदाहरण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालले स्वीस अनुभवबाट सिक्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका लोकतान्त्रिक संस्थाको क्षमता तथा प्रभावकारिता अभिवृद्धिमा सहकार्यको अपेक्षा गरेका छौँ ।”
    सो अवसरमा स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का  अध्यक्ष पियरे आन्द्रे पेजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आफूहरूले संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

    नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष पेजले दुई देशबीचको पारस्परिक सम्मान र विश्वासमा आधारित मित्रताको उत्सव मनाउन पाउँदा हर्षित भएको बताउनुभयो ।

    नेपालको संसदले संसदीय मैत्री समूह गठन गरिसकेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उहाँले आफूहरूले पनि छिट्टै संसदीयमैत्री समूह गठन गर्ने बताउनुभयो ।

    नेपाल र स्वीट्जरल्याण्ड हिमाली देश भएको र धेरै विषय समान रहेको उल्लेख गर्दै अध्यक्ष पेजले आपसी सहयोग र सहकार्य आदानप्रदान गर्न सदैव तयार रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan