लगानी र पूर्वाधार क्षेत्रका कानुन संशोधन गर्ने विधेयकमाथि छलफल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानुन संशोधन गर्ने उद्देश्यसहित तयार पारिएको विधेयकको मस्यौदामाथि छलफल कार्यक्रम आयोजना गरेको छ।
कार्यालयले आज ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग छलफल गरेको हो।
लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार विकासलाई गति दिन तथा विद्यमान कानुनी व्यवस्थामा आवश्यक सुधार गर्ने उद्देश्यले विधेयकको मस्यौदा तयार पारिएको हो।
छलफलका क्रममा मस्यौदामा समेटिएका प्रस्तावित व्यवस्था, कानुनी सुधारको आवश्यकता तथा कार्यान्वयनका सम्भावित पक्षबारे विचारविमर्श गरिएको छ।
प्राप्त सुझावका आधारमा विधेयकलाई थप परिमार्जन गरी अघि बढाउने अपेक्षा गरिएको छ।


