मिडिया काउन्सिल अध्यादेश फिर्ता लिन पत्रकार महासंघको माग, माग पूरा नभए आन्दोलनमा उत्रिन सुझाव
काठमाडौं, १९ कात्तिक । सरकारले संसद्लाई छलेर सरोकारवालाका सुझाव बेवास्ता गर्दै अघि बढाएको मिडिया काउन्सिलसम्बन्धी अध्यादेश र सञ्चारगृहमा प्रहरी प्रवेश गराई पत्रकारमाथि गरिएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेता तथा संघीय सांसद, नेपाल बार एसोसिएसनका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकारहरूले अध्यादेश र सञ्चारगृहमाथि गरिएको प्रहरी हस्तक्षेपप्रति विरोध जनाएका छन्।
कार्यक्रममा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै राष्ट्रपतिमार्फत अध्यादेश फिर्ता गराउन आग्रह गरेका छन्।
उनीहरूले विधि र प्रक्रियालाई बेवास्ता गर्दै अघि बढाइएको अध्यादेश तत्काल फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्न र सञ्चारगृहमाथि हुने हस्तक्षेप रोक्न सरकारसँग माग गरेका छन्।
अध्यादेश फिर्ता नभए नेपाल पत्रकार महासंघलाई आन्दोलनमा उत्रिनसमेत सहभागीहरूले सुझाव दिएका छन्। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि महासंघले थप सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।


