Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्मेनियाले इयूको सदस्यताका लागि आवेदन दिनेः प्रधानमन्त्री पाशिन्यान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस/एएफपी)

आर्मेनियाले सन् २०२८ सम्ममा युरोपेली सङ्घ (ईयू) को सदस्यताका लागि औपचारिक रूपमा आवेदन दिने योजना बनाएको छ ।

प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार इयूसँग नजिकिने र रूससँग दूरी बढाउने सङ्केत दिँदै सदस्याताको चर्चा गर्नुभएको छ । 

पछिल्लो समय आर्मेनिया र मस्कोबीचको सम्बन्ध चर्को रूपमा चिसिएको छ। 

येरेभानले रूसलाई आफ्नो शत्रु छिमेकी अजरबैजानविरुद्ध सुरक्षा दिन असफल भएको आरोप लगाएको छ । सन् २०२० र सन् २०२३ मा बाकुले आफ्नो अलग्गिएको काराबाख क्षेत्र पुनः कब्जा गरेको थियो । यो क्षेत्र लामो समयदेखि आर्मेनियाली अलगाववादीहरूको नियन्त्रणमा थियो । 

यसपछि उक्त क्षेत्रका एक लाखभन्दा बढी जातीय आर्मेनियालीहरू आर्मेनियातर्फ भागेका थिए । त्यसयता येरेभानले पश्चिमी मुलुकहरूतर्फ झुकाव राख्दै परम्परागत मित्र मस्कोको प्रभावबाट आफूलाई अलग्याउँदै आएको छ । 

“हामीले वैकल्पिक बाटो बनाउने प्रक्रिया सुरु गरेका छौँ, जसले हाम्रा जनतालाई छनोटको अवसर दिनेछ,” पाशिन्यानले एक पत्रकार सम्मेलनमा भन्नुभयो । 

“मलाई स्पष्ट छ, यो प्रक्रिया अन्ततः सन् २०२७ वा सन् २०२८ मा हामीलाई युरोपेली सङ्घको पूर्ण सदस्य बन्ने प्रक्रिया सुरु गर्न औपचारिक आवेदन दिन बाध्य पार्नेछ।” 

उहाँले येरेभानले रूसको नेतृत्वमा रहेको युरेसियन आर्थिक सङ्घ (ईएईयू) बाट तत्काल बाहिरिने कुनै योजना नभएको बताउनुभएको छ। 
यो व्यापारिक सङ्गठनमा पूर्व सोभियत गणराज्यका केही देशहरू सामेल छन्। 

“हामी ईएईयू छोड्ने योजनामा छैनौँ,” उहाँले भन्नुभयो । उहाँले सङ्गठनका सदस्यहरूले आर्मेनियाको भविष्यको गठबन्धनबारे जनमत सङ्ग्रह गर्ने कुरा उठाएको पनि उल्लेख गर्नुभयो । 

मस्कोले दुवै सङ्गठनको सदस्यता एउटै मुलुकका लागि सम्भव नभएको बारम्बार बताउँदै आउनुभएको छ । 

पाशिन्यानले आर्मेनियाले मस्कोको नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) प्रति ‘रुचि गुमाएको’ पनि बताउनुभएको छ। 

यस सैन्य गठबन्धनमा आर्मेनियाले आफ्नो सहभागिता स्थगन गरेको छ । उहाँले भन्नुभयो, “सीएसटीओप्रति हाम्रो रुचि समाप्त भएको छ। हामीलाई सीएसटीओमा थप रुचि छैन।” आर्मेनियाले सन् २०२५ अप्रिलमा युरोपेली सङ्घको सदस्यता खोज्ने प्रक्रिया सुरु गर्ने कानुन पारित गरेको थियो । तर त्यो कानुन आफैंमा औपचारिक आवेदन भने थिएन। 

पाशिन्यानको विदेश नीतिमा आएको यो ठूलो परिवर्तन र पश्चिमप्रतिको झुकावले क्रेमलिनलाई रिझाएको छैन । यस वर्षको सुरुमै मस्कोले आर्मेनियाली कृषि निर्यातमा व्यापारिक प्रतिबन्ध लगाएको थियो र सहुलियतपूर्ण ऊर्जा आपूर्ति कटौती गर्ने धम्की दिएको थियो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan