मध्यावधि हारपछि २०२८ को दौड तीव्र
वासिङ्टन, १९ कात्तिक : अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ ।
हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ ।
रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा हुनुहुन्छ ।
उहाँले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोज्नुभएको छ । विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा हुनुहुन्छ । तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ ।
डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उहाँको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ । उहाँले दौडमा रुचि नरहेको बताउनुभए पनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँको तुलना पूर्वराष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ ।
पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार हुनुहुन्छ ।
यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ । न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ ।
सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पु¥याएको ‘मागा’ गठबन्धन मध्यावधिमा कमजोर बनेपछि रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार थप अनिश्चित भएको छ । निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ ।


