हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी
सियोल, १९ कात्तिक : दक्षिण कोरियाले हर्मुज जलघाँटी आसपासको समुद्री मार्ग खुला राख्न गस्ती विमान, युद्धपोत र विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली परिचालन गर्ने भएको छ । तर, इरानसँगको युद्धमा प्रत्यक्ष संलग्न नहुने नीति कायम राख्दै मिसनलाई गैरलडाकू भूमिकामा सीमित गरिने रक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले सोमालियाको एडनको खाडीमा व्यापारिक जहाजको सुरक्षामा खटिएको चेओङ्हे नौसैनिक एकाइको कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।
योन्हाप समाचार एजेन्सीका अनुसार मिसनमा पी–८ समुद्री गस्ती विमान, मानवरहित जलयान तथा पानीमुनि निगरानी गर्ने उपकरणसमेत परिचालन गरिनेछ । यसका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।
रक्षा मन्त्रालयका अधिकारीका अनुसार टोलीले सहयोगी मुलुकका सेनाबाट स्वतन्त्र रूपमा काम गर्नेछ ।
परिचालन ओमानको दक्षिणतर्फको खुला समुद्री क्षेत्रमा सीमित हुनेछ भने इरानी भूभाग र जलक्षेत्रमा निगरानी गर्न अनुमति दिइने छैन ।
फेब्रुअरी २८ देखि जारी अमेरिका–इरान युद्धका कारण विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने हर्मुज जलघाँटीको ढुवानी प्रभावित भएको छ ।
यसअघि राष्ट्रपति ली जे म्युङले युद्धमा प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने दक्षिण कोरियाको नीति कायम रहने बताउनुभएको थियो ।
यसैबीच, हर्मुजको सुरक्षाका नाममा दक्षिण कोरियालाई सैन्य टोली परिचालन नगर्न इरानले चेतावनी दिँदै आएको छ ।


