Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युद्धविराम प्रयासबारे बोल्दै मेलानिया ट्रम्प

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस-एएफपी)

वासिङ्टन, १९ कात्तिक : अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार उहाँले युक्रेनको ओलेस्की र आसपासको खेरसन क्षेत्रमा युद्धविराम कायम गर्ने प्रयासमा स्वतन्त्र रूपमा संलग्नता जनाउनुभएको छ ।

प्रथम महिलाको कार्यालयले जारी गरेको विज्ञप्तिमा उहाँले रुस र युक्रेनका प्रतिनिधिहरूलाई ह्वाइट हाउसमा एकै ठाउँमा ल्याउने पहल गरिरहेको उल्लेख छ । उहाँले बिहीबार बिहान ११ बजे (१६०० जीएमटी) सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग डेढ घण्टा लामो विस्तृत छलफल भएको जानकारी दिनुभएको थियो । उहाँका अनुसार अर्को साता पनि वार्ता जारी रहनेछ ।

यसअघि बुधबार नै जेलेन्स्कीले रुसको नियन्त्रणमा रहेको सहरबाट सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न आंशिक युद्धविराम गराउन भूमिका खेलेको भन्दै मेलानियालाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको राष्ट्रिय सम्मान प्रदान गर्ने घोषणा गर्नुभएको थियो । युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित आदेशमा उहाँको मानवीय सहयोग, मानव अधिकार तथा परोपकारी कार्यमा पु¥याएको योगदानको प्रशंसा गरिएको छ ।

गत महिना मेलानियाको पहलमा दक्षिणी मोर्चाको ओलेस्की क्षेत्रमा स्थानीय युद्धविराम घोषणा गरिएको थियो । खाद्यान्न र औषधिको अभाव झेलिरहेका त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा बाहिर जान दिन युक्रेनी र रुसी सेनाबीच सहमति भएको थियो । दुवै पक्षले पालना गरेको उक्त दुर्लभ युद्धविरामका कारण सडक खाली गर्न र सर्वसाधारणलाई युक्रेन वा रुसतर्फ जान सहज भएको थियो ।

मेलानियाको कार्यालयले यसलाई अमेरिकी प्रथम महिलाबाट भएको अभूतपूर्व कूटनीतिक पहल भनेको छ । उहाँ रुस लगिएका युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने प्रयासमा पनि संलग्न रहँदै आउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan