Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्तरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

सप्तरी, २९ कात्तिक: सप्तरीमा छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । राजविराजस्थित भगवती, कल्टुदास, झल्ही, तुरन्ती र तेतरी गाछीलगायत जिल्लाका विभिन्न पोखरी, नदी तथा जलाशयमा भेला भएका व्रतालुले विधिपूर्वक सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् । 

    छठ पर्वका अवसरमा जलाशयका घाटलाई आकर्षक रूपमा सिँगारिएको थियो । शुक्रबार नहाय-खाय विधिबाट सुरु भएको पर्वको दोस्रो दिन शनिबार व्रतालुले दिनभर उपवास बसेर राति खरना विधि पूरा गरेका थिए । त्यसपछि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलाञ्चलमा ‘सझिया अरख’ भनिन्छ ।

    छठका लागि व्रतालु तथा परिवारका सदस्यले घरमै ठेकुवा, भुसुवा, खजुरी र पुडुकियालगायत परिकार तयार गरी नरिवल, फलफूल, मिठाइ र उखुसहितका सामग्री कोनिया, ढक्की तथा नाङ्लोमा सजाएर घाटमा लैजाने गर्छन् । राजविराज नगरपालिका-२ की व्रतालु पुनम देवले परिवारका सदस्यले पूजाका सामग्री घाटमा पुर्‍याएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको बताउनुभयो ।

    व्रतालु रातभर घाटमै बसेर छठी माताको पूजा आराधना तथा भक्ति गीत गाउने परम्परा छ । पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुनेछ । बिहानको यस विधिलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

    सूर्यदेव र छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको राजदेवी मन्दिरका पुजारी भोलानाथ चौधरीले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan