Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दमकल चालकलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

सुदूरपश्चिम, २९ कात्तिकः कञ्चनपुरका सात स्थानीय तहका दमकल चालक तथा अग्नि नियन्त्रकलाई अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम प्रदान गरिएको छ ।

    स्थानीय तहमा आगलागी तथा अन्य विपद्का घटना हुँदा तत्काल उद्धार र प्रतिकार्य गर्नसक्ने जनशक्ति तयार पार्ने उद्देश्यले युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुरको बेलौरी नगरपालिकाले तीनदिने तालिम प्रदान गरेको हो । आगलागीलगायत विपद्का घटनामा उद्धारका लागि बाह्य जनशक्ति र स्रोतसाधनको प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्थानीय जनशक्तिलाई नै दक्ष बनाउनु तालिमको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।

    तालिममा पुनर्वास, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा, वेदकोट र दोधारा–चाँदनी नगरपालिका तथा लालझाडी गाउँपालिकामा दमकल सेवामा कार्यरत २१ चालक तथा अग्नि नियन्त्रकलाई उद्धार, सुरक्षा सतर्कतालगायत विषयमा जानकारी दिइएको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिनुभयो । 

    तालिमका प्रमुख प्रशिक्षक वरिष्ठ अग्निनियन्त्रक तथा उद्धार प्रशिक्षक किशोरकुमार भट्टराईले सहभागीलाई आगलागी नियन्त्रण, विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी तथा उद्धारका आधुनिक विधिबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिनुभएको थियो । त्यस क्रममा आगलागीका विभिन्न अवस्था पहिचान, आगो निभाउने उपयुक्त विधि, उद्धारका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र आपतकालीन अवस्थामा जोखिम न्यूनीकरण गर्ने उपायबारे अभ्याससमेत गराइएको विपद् सम्पर्क व्यक्ति पाण्डेयले  बताउनुभयो । 

    आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि गरिएको यस्तो तालिमले स्थानीयस्तरमै विपद् व्यवस्थापन क्षमता बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । तालिमबाट प्राप्त ज्ञान र सीपले आगलागी तथा अन्य आपतकालीन घटनामा छिटो र प्रभावकारी प्रतिकार्य गर्न तथा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan