Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस-एएफपी)

टोकियो, १ मङ्सिर : दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ ।

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।

किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाइएको र घटना नदोहोर्‍याउन माग गरिएको जानकारी दिनुभयो ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ । यद्यपि, रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो । गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan