Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | रासस

काठमाडौँ, २ मङ्सिरः काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ । नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारीधनीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मोटरसाइकलको स्वरूप सच्याउन थालेका छन् । स्वरूप सच्याउने र कानुनी प्रक्रिया पूरा गर्नेको चहलपहलले ट्राफिक प्रहरी कार्यालय परिसरमा दिनभर भीड देखिने गरेको छ ।

    गोकर्णेश्वरबाट मोटरसाइकलको स्वरूप सच्याउन आउनुभएका अर्जुन लामाले साथीको लहैलहैमा लागेर छोराले मोटरसाइकलको स्वरूप परिवर्तन गरेको बताउनुभयो । “साथीको लहैलहैमा लागेर छोराले स्वरूप परिवर्तन गरेछ । अहिले ट्राफिक प्रहरीले समात्यो । आफैँ मिस्त्री बोलाएर स्वरूप सच्याएँ । फोकटको दुःख पाइयो,” उहाँले भन्नुभयो ।

    कागेश्वरी मनहराका रमेश श्रेष्ठले पनि केही समयको रमाइलोका लागि गरेको गल्तीले अनावश्यक दुःख भोग्नुपरेको बताउनुभयो । “एकछिनको रमाइलोका लागि निकै दुःख पाइयो । अब यस्तो गल्ती गरिँदैन,” उहाँले भन्नुभयो ।

    सवारीसाधनमा आफूखुसी स्वरूप परिवर्तन गर्दा ध्वनि तथा वायु प्रदूषण बढ्नुका साथै सडक सुरक्षामा जोखिम उत्पन्न हुने भएकाले ट्राफिक प्रहरीले ‘मोडिफाइड सवारीसाधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ सञ्चालन गरेको हो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने तथा साइलेन्सरबाट आगोका झिल्का निकाल्ने प्रवृत्ति बढेपछि अभियान सञ्चालन गरिएको हो । विशेषगरी रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा सर्वसाधारणको निद्रा र शान्त वातावरणमा असर पर्ने गरेको उहाँले बताउनुभयो ।

    अभियानप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौँको बानेश्वरकी विनिता थापाले चर्को आवाजमा मोटरसाइकल चलाउँदा राति सुत्नसमेत समस्या हुने गरेको बताउँदै ट्राफिक प्रहरीको अभियानले राहत मिलेको प्रतिक्रिया दिनुभयो ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा परेका सवारीधनी तथा चालकले यातायात व्यवस्था कार्यालयमा गई कानुनबमोजिम जरिवाना तिरेर कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीसाधनको मूल स्वरूप कायम गर्नुपर्नेछ ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका ४०१ मोटरसाइकलमध्ये बुलेट ३४७, क्रसफायर १७, एनएस ११, केटीएम ड्युक नौ, स्कुटर चार र डुकाटी दुई वटा छन् । त्यस्तै, एमटिआरलगायत अन्य आठ वटा मोटरसाइकल रहेका छन् ।

    चर्को आवाज निकाल्ने यस्ता मोटरसाइकलबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी प्रभावित हुने गरेका छन् । विद्यालय तथा आवासीय क्षेत्र आसपासमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा विद्यार्थीको अध्ययनमा बाधा पुग्ने गरेको स्थानीयवासीको गुनासो छ ।

    सार्वजनिक सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले व्यक्तिगत मनोरञ्जन वा प्रदर्शनका नाममा अरूको स्वास्थ्य, शान्ति र सुरक्षामा असर पर्ने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ । ध्वनि प्रदूषण नियन्त्रण र सवारी नियमको पालना सुनिश्चित गर्न अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan