Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धम्बोजी–नन्दनी मिल सडक स्तरोन्नति कार्य शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

नेपालगञ्ज (बाँके), ३ मङ्सिरः नेपालगञ्जको धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य आजदेखि शुभारम्भ गरिएको छ । 
    
 नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको एक हजार ९२० मिटर सडक रु ३९ करोड ८४ लाखको लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । 
    
उहाँका अनुसार निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सम्झौता भएको हो । 

सम्झौताअनुसार २०८४ कात्तिक १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि स्थानीयवासीको सहयोग र निर्माण व्यवसायीको प्रतिबद्धताका कारण छ महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको छ । 

उहाँले बजेट प्रवाह र कार्यालयको निर्णय प्रक्रियामा कुनै समस्या नरहेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो । 

चार लेनको उक्त सडकको बीचमा डिभाइडर र दुवैतर्फ फुटपाथ निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

“यो सडकले उपमहानगरपालिका क्षेत्रभित्र आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्त महत्त्व राख्दछ । यसले आर्थिक गतिविधि पनि बढाउने हामीले महसुस गरेका छौँ,” योजना प्रमुख भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार सडकको केन्द्रविन्दुबाट दायाँबायाँ गरी कुल १५ मिटर राइट अफ वेभित्र पर्ने करिब १६१ वटा घर तथा संरचना हटाइसकिएको छ । अब एउटा मन्दिर र एक दुईवटा घर हटाउन बाँकी रहेकाले स्थानीय तहको सहयोगमा ती संरचना पनि व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद धितालले उपमहानगरपालिकाभित्र निर्माण हुन लागेको यो सडक गुणस्तरीय र सुविधायुक्त हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले वडा नं १ सँग सम्बन्धित सडक स्तरोन्नति हुन लागेकामा खुसी व्यक्त गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक स्तरोन्नतिका लागि आफ्नो जग्गा, घर तथा बाउन्ड्री हटाएर सहयोग गर्ने स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्थानीयवासीको स्वस्फूर्त सहयोगले सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली गराउन सहज भएको बताउनुभयो ।

प्रमुख विष्टले केही दिनअघिसम्म जानकी गाउँपालिकाको नन्दनी मिल क्षेत्रतर्फ तुलनात्मक रूपमा व्यवस्थित र फराकिलो सडक देखिने गरेको भए पनि उपमहानगरपालिका प्रवेश गरेपछि सडकको अवस्था कमजोर रहेको अनुभूति हुने गरेको बताउनुभयो । 

स्तरोन्नति हुन लागेको उक्त सडकले नेपालगञ्जको सहरी स्वरूप र आवागमनलाई थप व्यवस्थित बनाउने उहाँको भनाइ छ ।

उहाँले सडक निर्माण कार्यलाई अगाडि बढाउन सहयोग गर्ने नेपाल सरकारका सम्बन्धित मन्त्रालय, मन्त्रालयका पदाधिकारी, हुलाकी राजमार्ग निर्देशनालयको टोली, जिल्ला प्रशासन कार्यालयलगायत सबै पक्षलाई धन्यवाद दिनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडक निर्माणका लागि आवश्यक जग्गा तथा संरचना खाली गराउने कार्यमा स्थानीयवासीको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले आयोजनाको समन्वय, सहजीकरण र शान्ति सुरक्षाको जिम्मेवारीअन्तर्गत राइट अफ वे खाली गराउने प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको जानकारी दिनुभयो ।

“अन्य जिल्लामा राइट अफ वे खाली गराउने क्रममा घरटहरा हटाउन सुरक्षा निकाय परिचालन गर्नुपर्ने र स्थानीयवासीको अवरोध पनि हुने गरेको देखिन्छ । तर यहाँ त्यस्तो अवस्था सिर्जना भएन । स्थानीयवासीको सहयोगमा अधिकांश संरचना हटाउन सकिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले अहिले निर्माण व्यवसायीले काम गर्न आवश्यक साइट प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी रहेका विषयमा समन्वय र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिनुभयो ।

सडक स्तरोन्नतिका लागि रु ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँ ८८ पैसा सम्झौता रकम कायम गरिएको छ । उक्त रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल पनि समावेश छन् । 

सडक स्तरोन्नति सम्पन्न भएपछि नेपालगञ्जको सहरी क्षेत्रको आवागमन सहज हुनाका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan