चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल
काठमाडौँ, ७ मङ्सिर : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ ।
चलचित्र क्षेत्रलाई समयानुकूल विकास गर्दै उद्योगका रूपमा स्थापित गर्ने, नयाँ प्रविधि र सङ्घीय संरचनाअनुसार कानुनी व्यवस्था गर्ने तथा चलचित्रकर्मीका अधिकार र क्षेत्रका विद्यमान समस्या सम्बोधन गर्न अघि बढाउने गरी विधेयक समितिको आजको बैठकमा छलफल गरिएको हो ।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि नयाँ विधेयक अघि बढाएको हो ।
चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक, सिर्जनशील तथा आर्थिक योगदान गर्ने उद्योगका रूपमा विकास गर्ने उद्देश्य विधेयकले राखेको छ ।
समितिका सभापति डा ओजस्वी शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग गहन छलफल गरी विधेयकलाई थप परिष्कृत बनाइने बताउनुभयो ।
चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यान दिएर आवश्यक कानुनी व्यवस्था गरिने उहाँको भनाइ थियो ।
बैठकमा सांसद डा लेखजङ्ग थापाले चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
चलचित्र संस्कृति र पहिचानको महत्वपूर्ण क्षेत्र भएकाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सेन्सरसीपलाई थप व्यवस्थित गर्ने कानुनी आधार तथा चलचित्रकर्मीको सामाजिक सुरक्षाका विषय विधेयकमा समेटिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सांसद रमेशकुमार मल्लले चलचित्र क्षेत्रका वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ कानुन बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा चलचित्र क्षेत्रको ठूलो सम्भावना भए पनि त्यसलाई व्यवहारमा उपयोग गर्न नसकिएको उल्लेख गर्दै पर्यटन र चलचित्र उद्योगलाई एकीकृत रूपमा विकास गर्न आवश्यक कानुनी तथा पूर्वाधार तयार गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद डा तोसिमा कार्कीले चलचित्रलाई बहुआयामिक क्षेत्रका रूपमा हेर्नुपर्ने बताउनुभयो । नेपाली चलचित्रको उपलब्धता सहज बनाउने, स्वदेशी चलचित्रको प्रदर्शन तथा प्रवद्र्धन गर्ने र चलचित्रले प्रदर्शनका लागि हल नपाउने समस्याको समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । नेपाली चलचित्रको बजार, दर्शकको रुची तथा विदेशी चलचित्रको प्रभावबारे पनि अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद गणेश पौडेलले चलचित्र क्षेत्रका विद्यमान समस्या पहिचान गरी कानुनमा आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो । भाषा, संस्कृति र पर्यटनलाई विश्व समुदायमा पुर्याउन चलचित्र महत्वपूर्ण माध्यम भएकाले त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
चेतनामूलक, शिक्षामूलक तथा सन्देशमूलक चलचित्रको प्रवर्द्धन र व्यावसायिक रूपमा सफल चलचित्र निर्माणका साथै नयाँ प्रविधिबाट लाभ लिन आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद डा अच्युतम लामिछानेले चलचित्रकर्मीको पारिश्रमिक, सामाजिक सुरक्षा, शारीरिक तथा मानसिक हिंसा, दुर्घटना र बिमासम्बन्धी विषयलाई कानुनले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
चलचित्र क्षेत्रमा श्रमिकको अधिकार र सुरक्षाका विषय पटकपटक उठ्ने गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद पुकार बमले चलचित्र क्षेत्रलाई उद्योग र पर्यटनसँग मात्र नभई संस्कारका रूपमा पनि हेर्नुपर्ने बताउनुभयो । नेपाली चलचित्रले अन्तरराष्ट्रिय बजारमा पर्याप्त उपस्थिति जनाउन नसकेको उल्लेख गर्दै त्यसको प्रवद्र्धन र बजार विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद प्रभा ढकालले चलचित्र पाइरेसी बढ्दै गएको उल्लेख गर्दै त्यसको नियन्त्रण तथा नियमनका लागि विधेयकमा प्रभावकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिका सुदृढ गर्ने प्रस्ताव गरिएको छ ।
चलचित्र क्षेत्रमा बक्स अफिस प्रणालीलाई अनिवार्य तथा व्यवस्थित गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचीसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।
त्यस्तै, चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवद्र्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषयलाई विधेयकले प्राथमिकता दिएको छ ।
नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने र नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पुर्याउने लक्ष्य पनि विधेयकमा राखिएको छ ।
नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ र राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार बनाएर विधेयक तयार गरिएको जनाइएको छ ।
नयाँ ऐन कार्यान्वयनमा आएपछि चलचित्र निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित हुने, आर्थिक कारोबारमा पारदर्शिता र जवाफदेहिता बढ्ने तथा नेपाली चलचित्रलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सिर्जनशील, सांस्कृतिक र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
