Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा !

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर । नेपालमा उत्पादित खसी, बोका, बाख्रा, पाठी तथा कुखुरासमेत भारततर्फ जान थालेपछि मासु व्यवसायीहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

अवैध रूपमा पशुचौपाया भारत निर्यात हुने क्रम तत्काल नरोकिए नेपाली बजारमा मासुको अभाव हुने, मूल्य अत्यधिक बढ्ने र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उनीहरूले चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मासु व्यवसायी संघ, चौपाया खरिदबिक्री संघ तथा नेपाल मुस्लिम मासु पसल संघका प्रतिनिधिहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउँदै सीमा नाकामा कडाइ गर्न र व्यवसायीका समस्या तत्काल समाधान गर्न माग गरेका हुन् ।

अधिवक्ता ज्ञानेन्द्र दाहाल कार्यक्रममा बोल्दै अधिवक्ता ज्ञानेन्द्र दाहालले नेपालको हिमाल, पहाड र तराईमा उत्पादन भएका खसीबोका तथा बाख्रा नेपाली बजारमै खपत हुनुपर्ने भए पनि विभिन्न सीमा नाकाबाट भारततर्फ आपूर्ति भइरहेको आरोप लगाए ।

यसले स्वदेशी बजारमा पशुचौपायाको अभाव सिर्जना गर्नुका साथै मासुको मूल्यवृद्धि र व्यवसायीको रोजीरोटीमा प्रत्यक्ष असर पारिरहेको उनको भनाइ छ ।

‘अहिले नेपालभरिका खसीबोका विभिन्न नाकाबाट भारतमा सप्लाई हुन थालेका छन् । यही अवस्था कायम रहने हो भने नेपाली बजारमा मासुको मूल्य अझै बढ्न सक्छ । मासु नै नपाइने अवस्था आउन सक्छ र व्यवसायीहरू पसल बन्द गर्नुपर्ने स्थितिमा पुग्न सक्छन्’, दाहालले भने ।

उनका अनुसार नेपाल मासु व्यवसायी संघको तर्फबाट यस विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत पेस गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त विषय गृह मन्त्रालयसम्म पुर्‍याउँदै सम्बन्धित निकायलाई पत्राचार गरेको उनको दाबी छ ।

उनले झापाको काँकडभिट्टा, सुनसरीको भन्टाबारी, सिरहाको ठाडी, धनुषा, महोत्तरी, सर्लाही, कपिलवस्तुको कृष्णनगर, नेपालगञ्ज, बर्दियाको गुलरिया, धनगढी र दार्चुलालगायत दुई दर्जनभन्दा बढी सीमा नाकाबाट पशुचौपाया भारततर्फ जाने गरेको दाबी गर्दै तत्काल निगरानी बढाउन माग गरे ।

दाहालले देशभरका सीमा नाकामा रहेका जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा भन्सार कार्यालयलाई सक्रिय बनाएर अवैध निर्यात नियन्त्रण गर्नुपर्ने बताए । नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी बजारको आपूर्ति सुनिश्चित नगरे हजारौँ परिवारको जीविकोपार्जन प्रभावित हुने उनको भनाइ छ ।

सरकारले जाँच नभएको मासु नखानु भन्छ, तर जाँच कहाँ लगेर गराउने? : अध्यक्ष खत्री

त्यस्तै, चौपाया खरिदबिक्री संघका केन्द्रीय अध्यक्ष सन्तोषबहादुर खत्रीले आवश्यक पूर्वाधार निर्माण र व्यवसायीसँग छलफल नगरी सरकारले मासु जाँचसम्बन्धी कानुन कार्यान्वयन गर्न खोजेको भन्दै आपत्ति जनाए ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ को कार्यान्वयनप्रति आफूहरूको विरोध नरहेको स्पष्ट पार्दै उनले त्यसका लागि आवश्यक वधस्थल, वधशाला तथा पशु स्वास्थ्य परीक्षण केन्द्र निर्माण गर्नुपर्ने बताए ।

‘सरकारले जाँच नभएको मासु नखानु भन्छ । तर जाँच कहाँ लगेर गराउने ? कसलाई लगेर जाँच गराउने ? राज्यले न एउटा वधस्थल बनाउन सकेको छ, न एउटा वधशाला बनाउन सकेको छ’, खत्रीले प्रश्न गरे ।

उनका अनुसार व्यवसायीले पटक–पटक राज्यसँग चौपाया खरिदबिक्रीका लागि आवश्यक स्थान र पूर्वाधार उपलब्ध गराउन माग गर्दै आएका छन् । तर आवश्यक संरचना निर्माण नगरी व्यवसायीलाई मात्रै नियमको भार बोकाउन खोज्नु अव्यावहारिक भएको उनले बताए ।

खत्रीले काठमाडौं उपत्यकामा व्यवस्थित चौपाया बजार तथा वधस्थल निर्माण गर्नुपर्ने मागसमेत अघि सारे । उनका अनुसार काठमाडौंमा दुई, भक्तपुरमा एक र ललितपुरमा एक गरी कम्तीमा चारवटा व्यवस्थित बजार तथा वधस्थल आवश्यक छन् ।

यसका लागि बागमती प्रदेश सरकार, पशुसेवा विभाग, काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहसँग पत्राचार र समन्वय गरिएको संघले जनाएको छ । व्यवस्थित बजार निर्माण भए पशु स्वास्थ्य परीक्षण, रोग नियन्त्रण, मासुको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्ने संघको दाबी छ ।

खत्रीले कानुन कार्यान्वयनको विरोध नभई कार्यान्वयनका लागि आवश्यक आधार तयार नगरी व्यवसायीमाथि मात्रै कारबाहीको जोखिम थोपर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे । नेपालमा उत्पादित खसीबोका तथा बाख्रा भारततर्फ जाने क्रम रोक्न पनि उनले सरकारसँग माग गरे ।

उनले व्यवसायीका माग समयमै सम्बोधन नभए पसल बन्द गर्नुको विकल्प नरहने चेतावनी दिँदै पहिले आवश्यक व्यवस्था गरेर त्यसपछि प्रभावकारी नियमन गर्न सरकारलाई आग्रह गरे ।

सामान नपाएर पसल बन्द गर्नुपर्ने अवस्था आयो : मोमीन

नेपाल मुस्लिम मासु पसल संघका काठमाडौं जिल्ला अध्यक्ष मंजुर मिया मोमीनले पनि नेपाली बजारमा खपत हुनुपर्ने खसीबोका, बाख्रा, पाठी तथा कुखुरासमेत भारततर्फ जान थालेपछि मासु व्यवसायीहरू ठूलो संकटमा परेको बताए ।

उनका अनुसार बजारमा बिक्रीका लागि आवश्यक पशुचौपाया पाउन छाडेपछि कतिपय मासु पसल बन्द भइसकेका छन् भने अन्य व्यवसायीसमेत व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

‘पसल बन्द भइसक्यो । अब सामान नपाएपछि के गर्नु त हजुर ? हाम्रो नि बन्द गर्नुपर्ने बेला भइसक्यो’, मोमीनले भने ।

उनले यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी गराउँदै निवेदन तथा ज्ञापनपत्र बुझाइसकेको बताए । व्यवसायीका माग तत्काल सम्बोधन गरी सीमा नाकामा कडाइ गर्नुपर्ने उनको माग छ ।

मोमीनले सरकारले तत्काल समस्या समाधान नगरे मंसिर १० गतेदेखि मासु पसल नै बन्द गर्ने चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan