Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजना कार्यान्वयन गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार | रासस

ललितपुर, ११ मङ्सिरः प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजनाका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    निर्वाचन आयोगद्वारा आज ललितपुरमा आयोजित आयोगको चौथो रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श बैठकको समापनका अवसरमा उहाँले रणनीतिक योजनामा समेटिएका कार्यक्रम तथा गतिविधि कार्यान्वयन गर्न नसकिने खालका नरहेको निष्कर्षसहित प्राप्त सुझाव समेटेर योजनालाई परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा केही कार्यक्रम आंशिक रूपमा कार्यान्वयन भएको र केही कार्यक्रम कार्यान्वयन हुन नसकेको विषयमा विस्तृत छलफल भएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा कार्यक्रम सुरु हुनसकेका छैनन् । कार्यान्वयन हुन नसकेका कार्यक्रम किन अघि बढ्न सकेनन् भनेर ध्यान दिनेछौँ, कार्यक्रम कार्यान्वयन गर्न नसकिने प्रकृतिका छैनन्, कार्यान्वयनको ढाँचा तथा प्रक्रियामा सुधार आवश्यक छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव प्राप्त भएको छ”, प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो ।
    
    उहाँले रणनीतिक योजनाका पाँचवटै मूल स्तम्भलाई आधार बनाएर गरिएको छलफलमा सहभागी वक्ताहरूले कार्यक्रम असम्भव वा अनावश्यक रहेको भन्दा पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रक्रियागत सुधार आवश्यक रहेको सुझाव आएको उल्लेख्य गर्नुभयो ।

    सहभागीबाट प्राप्त सुझावले रणनीतिक योजना कार्यान्वयनमा थप आत्मविश्वास बढाएको उल्लेख गर्दै उहाँले प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी योजनालाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    निर्वाचन आयुक्त डा राजीव सुब्बाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउन अब हिचकिचाउन नहुने भन्दै पोस्टल भोटिङ, अन्तरजिल्ला मतदान, विदेशमा रहेका नेपालीका लागि मतदान सुविधा, भिभीप्याटसहितको विद्युतीय मतदान प्रणाली तथा इन्टरनेट भोटिङजस्ता विकल्पलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन पद्धति र प्रणालीमा गर्नुपर्ने सुधारका बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । बैठकमा निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले रणनीतिक योजनाको कार्यान्वयन अवस्था र चुनौतीबारे प्रश्नोत्तर, विषयगत समूहमा छलफल तथा समूहगत प्रस्तुतीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan